logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

वर्षा रोकिएपछि जनजीवन सामान्यतर्फ उन्मुख, सुरक्षित स्थानमा सारिएकाहरु घर फर्कदैँ


  • उज्यालो अभियान

(तस्बीर सौजन्य : लक्ष्मण यादव)

बसबरिया, १३ असोज – तीन दिनदेखिको झरी रोकिएर मौसम सफा भएपछि सर्लाहीसहित देशका अधिकांश स्थानको जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ ।

बिहीबार साँझदेखिको झरी हिजो बेलुकाबाट रोकिएको हो । सर्लाहीमा आज बिहानैदेखि मौसम सफा भई उघ्रिएर घाम लागेको छ । पानी पर्न रोकिएपछि मानिसहरु आ–आफ्नो दैनिकीमा फर्किएका छन् ।

हिजो बिहानपखको घनघोर वर्षापछि बागमती नदीमा बाढी बढेर बसबरिया, रामनगर, बलरा, बरहथवालगायत क्षेत्रमा डुबान र कटानको समस्या देखिएको छ । डुबानमा परेका बस्तीमा विस्तारै पानी घट्न थालेको छ ।

बागमती नदी बस्तीमा पसेपछि बसबरियामा पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । तटबन्ध भत्काएर बाढी गाउँतर्फ मोडिएपछि बसबरिया गाउँपालिका वडा नं. १ को बिर्ता टोल तथा वडा नं. २ को ढापटोल, मानपुरगोठ, पनिलाल राय टोल र लौका टोलका स्थानीयलाई अग्लो स्थानमा सारिएको हो । ति गाउँका वासिन्दा आज बिहानबाट आ–आफ्नो घर फर्किसकेका बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए ।

बागमतीको बाढी पसेर सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकामा ५० भन्दा बढी घर डुबानमा परेका छन् । बलरा नगरपालिका–१, छन्कीटोला र बलरा नगरपालिका–२, जैहथियौल टोलमा बागमतीको भेल पसेर ५० भन्दा बढी घर डुबानमा परेको मेयर रामाशङ्कर प्रसाद कुशवाहाले बताए ।

त्यहाँ पनि पानी रोकिएपछि जनजीवन सहज बन्दै गएको स्थानीयले बताएका छन्् । तीन दिनको पानीले सर्लाहीका विभिन्न स्थानमा बाटो, पुल, बिजुलीको खम्बा, कच्ची घरगोठलगायतमा क्षति पुर्याएको छ । लालबन्दी र ईश्वरपुरलाई जोड्ने जब्दीस्थित फूलजोर खोलाको पुल बाढीको कटानका कारण थप जोखिमपूर्ण बनेको छ ।