हरिपूर्वा नगरपालिकाको कार्यालय । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, ११ असोज – मुख्य चाडपर्व मुखमै आइसक्दा सर्लाहीका २० मध्ये सात पालिकाको मात्रै बजेट निकासा भएको छ ।
आवश्यक कागजात पेश गरेर प्रक्रिया पूरा गरेका सातवटा पालिकाको बजेट निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका लेखा प्रमुख रामप्रकाश साहले जानकारी दिए । उनका अनुसार हरिपूर्वा, बागमती, मलङ्गवा र लालबन्दी नगरपालिका तथा ब्रह्मपुरी, कौडेना र चक्रघट्टा गाउँपािलकाको बजेट निकासा भएको छ । यि पालिकामा अब दशैँअघि कर्मचारी, शिक्षकलगायतलाई तलब खुवाउने बाटो खुलेको छ ।
दशैँ, तीहार, छठ जस्ता मुख्य चाडपर्व नजिकिएकाले आवश्यक कागजात पूरा गरेर कार्यालयमा आएका पालिकाको तत्कालै बजेट निकासा गरेर पठाउने गरिएको कोलेनिकाका लेखापाल साहले बताए । सरकारले कोलेनिकामा निकासा गरेर पठाउने बजेट सञ्चालन गर्न पालिकाहरुले गाउँ तथा नगरसभा गरेको कागजात, गत वर्ष कोलेनिकाबाट निकासा भएको बजेटको हरहिसाब, खर्च हुन नसकेको बजेट फिर्तालगायतका प्रक्रिया पूरा गरी कोलेनिकामा पेश गर्नुपर्ने हुन्छ । तर जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये आजको मितिसम्म चार नगरपालिका र तीन गाउँपालिकाको मात्रै बजेट निकासा भएको छ ।
दशैँ बिदाअघि असोज २३ गतेसम्म अझै १० दिन कार्यालय खुल्ने छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईँले अझै एक साताभन्दा बढी समय बाँकी रहेकाले अन्य पालिकाको पनि कागजात पूरा भएर आए तत्कालै बजेट निकासा हुन सक्ने बताए ।