हरिवन, ०४ असोज – उखु किसानले पाउनुपर्ने अनुदान रकम निकासाको माग गर्दै सङ्घीय राजधानी काठमाडौं पुगेका अगुवा उखु किसानले एक साताभित्र अनुदान रकम निकासाको आश्वासन पाएका छन् ।
निवर्तमान रक्षामन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेतीसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेका अगुवा उखु किसानलाई मन्त्रालयका सचिव डा. दीपककुमार खरेललगायतका अधिकारीले एक साताभित्र अनुदान रकम निकासा हुने आश्वासन दिएका हुन् । कृषि मन्त्रालयबाट अर्थ मन्त्रालय हुँदै रकम निकासाको प्रक्रिया अघि बढिसकेको जानकारी आफूहरुलाई गराइएको मन्त्रालय पुग्नुभएका सर्लाहीका अगुवा उखु किसान राजकुमार उप्रेतीले बताए ।
एक साता धैर्य गरिदिन आग्रह गरेपछि आफूहरु फर्किएको उप्रेतीको भनाई छ । एक साताभित्र पनि रकम निकासा नभए र दशैँअघि उखु किसानले अनुदानको रकम नपाउने अवस्था सिर्जना भए कडा आन्दोलन गर्ने चेतावनी दिइएको अगुवा उखु किसानले बताएका छन् ।
अगुवा उखु किसान र राजनीतिक दलका नेताले यसअघि पनि पटक–पटक मन्त्री र मन्त्रालयका जिम्मेवार कर्मचारीलाई भेटेर दशैँअघि अनुदानको रकम किसानको खातामा जाने व्यवस्था मिलाइदिन अनुरोध गरिसकेका छन् ।
गत वर्ष अपुग रकम निकासा हुँदा किसानलाई दशैँअघि केही प्रतिसत र बाँकी रकम दशैँपछि मात्रै निकासा गरेर अनुदान रकम वितरण भएको थियो ।
सरकारले उखुको क्रसिङ सिजन २०८०/८१ मा उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको थियो । उखु क्रसिङ गरेर चिनी मिल बन्द भएको छ महिना भन्दा बढी भइसक्दा समेत किसानले अनुदान रकम पाउन सकेका छैनन् ।