logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

प्रधानमन्त्री ओलीसँग सर्लाहीबाट गएको टोलीको भेट, राखियो तीनवटा माग


  • उज्यालो अभियान

लालबन्दी, ३० भदौ – सर्लाहीबाट सङ्घीय राजधानी पुगेको जनप्रतिनिधिसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर तीनवटा माग प्रस्तुत गरेको छ ।

जिल्लाका तीन जना सङ्घीय सांसदसहित बालुवाटार पुगेको टोलीले प्रधानमन्त्री ओलीसँग सुनकोशी–मरिण डाइभर्सनको पानी लखन्देही खोलामा खसालेर सर्लाहीको उत्तरी चुरेभेगमा पनि सिँचाई र खानेपानीको सुविधा पुर्याउन पहल गरिदिन, त्रिभुवननगर–लालबन्दी, मरिण–दुम्जा रणनीतिक सडकका लागि आवश्यक बजेट विनियोजन गरिदिन र नारायणगढदेखि कोशीसम्म ट्रमा सेन्टर नरहेकाले सर्लाहीमा ट्रमा सेन्टर स्थापनाका लागि पहल गरिदिन माग गरेको हो ।

सुनकोशी–मरिण डाइभर्सनको पानी बागमती नदीमा खसाल्दा अग्लो भू–भागमा पर्ने सर्लाहीको उत्तरी भेगमा सिँचाई सुविधा नपुग्ने भएकाले योजना सच्याएर उक्त पानी लालबन्दी नगरपालिका अन्तर्गत नारायणखोलास्थित लखन्देही खोलामा झार्ने व्यवस्था मिलाइदिन माग गर्दै निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि केही समय पहिले यसैगरी ध्यानाकर्षण गराइएको थियो । त्यसबेला तत्कालिन प्रधानमन्त्री प्रचण्डले आयोजनालाई लखन्देही खोलामा पानी झार्न सकिनेबारे प्राविधिक अध्ययन गर्न आदेश दिएका थिए ।

वर्तमान प्रधानमन्त्री ओलीलाई पनि यस विषयमा गम्भीरता देखाइदिन आग्रह गरिएको लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले उज्यालो अभियानलाई जानकारी दिए । मेयर अधिकारीका अनुसार प्रधानमन्त्री ओलीलाई भारतीय सीमास्थित सर्लाहीको त्रिभुवननगरदेखि लालबन्दी, मरिण हुँदै विपी राजमार्गस्थित सिन्धुलीको दुम्जासम्मको रणनीतिक सडक निर्माणका लागि आवश्यक बजेट विनियोजनाको व्यवस्था मिलाइदिन ध्यानाकर्षण पत्र बुझाइएको छ ।

त्यस्तै नारायणगढदेखि कोशीसम्मको बिचभागमा कहिँकतै ट्रमा सेन्टर नहुँदा हाडजोर्नीको उपचारका लागि असाध्य समस्या परिरहेकोप्रति प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ । लालबन्दीमा सुविधा सम्पन्न मनमोहन मेमोरियल अस्पताल निर्माण भइरहेको र भवनको अभाव नहुने भएकाले लालबन्दीमै ट्रमा सेन्टर निर्माणका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग भेट गर्दा उनी समेत सकारात्मक हुनुभएको नगरप्रमुख अधिकारीले सुनाए ।

प्रधानमन्त्री ओलीसँग सर्लाहीका सङ्घीय सांसदहरु रामप्रकाश चौधरी, महिन्द्रराय यादव, हरिप्रसाद उप्रेती, लालबन्दीका नगरप्रमुख अधिकारी, हरिवन नगरपालिकाका निवर्तमान नगरप्रमुख गणेशप्रसाद प्रसाई, नेपाली कांग्रेसका दीपक अधिकारी र सीताराम दाहाल, नेकपा एमालेका बलराम पोखरेललगायतले भेट गरेका छन् ।

यस्तै टोलीले गृहमन्त्री रमेश लेखकसँग भेट गरी इलाका प्रहरी कार्यालय लालबन्दीलाई नयाँ गाडी उपलब्ध गराइदिन माग गरेको छ ।

सर्लाहीबाट गएको टोलीले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग समेत भेट गरेर दुई मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ ।