फाइल तस्बीर ।
लालबन्दी, २९ भदौ – सर्लाहीको मौसम आज बिहानैबाट बदली भएको छ ।
यहाँ आज टन्टलापुर घाम हटेर पानी पर्लाजस्तो भई मौसम धुम्मिएको हो । मौसममा आएको बदलीले तुलनात्मक रुपमा गर्मी केही कम भएको छ ।
एक साता लगातार अत्यन्त चर्को घाम लागेर गर्मी हुँदा धेरैमा टाउको दुख्ने, चक्कर लाग्ने, ज्वरो, रुघाखोकी, एलर्जी, घाउ खटिरा जस्ता गर्मीजन्य संक्रमण देखिएको छ । यही बेला जिल्लामा डेंगुका बिरामी पनि बढिरहेका छन् ।
मौसम बदली भएर शित्तल हुँदा मानिसलाई आज घर बाहिरको काममा निस्कन केही सहज भएको छ । एक साता वर्षा रोकिँदा जिल्लामा धेरै किसानले गोलभेँडा, कोभीलगायत तरकारीको विरुवा सार्न भ्याएका छन् ।
पोटाउन लागेको धान बालीलाई पुनः आकाशे वर्षाको खाँचो भएको छ । अहिले कतैकतै धान बालीमा राते, गोवारोलगायत सामान्य प्रकारको रोग, कीराको प्रकोप देखिएको किसानले बताएका छन् ।
यो वर्ष पानी पर्याप्त परेर सबैतिर धानी खेती बढेको र अहिलेसम्म बोट पनि राम्रै रहेकाले उत्पादनमा वृद्धि हुने आश गरिएको छ ।