गर्मी छल्न नहरमा पौडी खेल्दै गरेका बालबालिका । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, २७ भदौ – सर्लाहीसहित मधेशका जिल्लाहरुमा केही दिनदेखि गर्मी अत्यधिक बढ्दा जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ ।
भदौ अन्तिमतिरको अचाक्ली गर्मीले सर्वसाधारण प्रभावित बनेका हुन् । बिहानैदेखि साँझसम्म एकटन्कारले टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी हुँदा मानिस बिरामी पर्न थालेका छन् ।
सर्लाहीमा आज भने बिहानैदेखि मौसम धाम्मधुम्म हुने भइरहेको छ ।
नगर अस्पताल लालबन्दीका डा. चन्दन चौधरीले अत्यधिक गर्मीले गर्दा अस्पतालमा ज्वरो, रुघाखोकी, टाइफाइड, शरीर कमजोर हुने, पखाला, घाउखटिरा जस्ता गर्मीजन्य सङ्क्रमण भएका बिरामी बढिरहेका जानकारी दिए । गर्मी धेरै भई पसिना बगेर धेरैमा टाउको दुख्ने र चक्कर लाग्ने समस्या देखा परिरहेको डा. चौधरीले बताए । यो बेला लामखुट्टे धेरै नै लाग्दा डेङ्गुका बिरामी पनि बढिरहेका छन् ।
गर्मी अत्यधिक बढ्दा खेतबारीको काम गनुपर्ने किसान र भारी काम गर्नुपर्ने मजदुर सबैभन्दा बढी मारमा परेका छन् । गर्मी र तातो घामले असिनपसिन हुँदा विद्यालय जाने बालबालिका पनि प्रभावित बनिरहेका छन् । जनता माध्यमिक विद्यालय बसबरिया गाउँपालिका–३, भवानीपुरका प्रधानाध्यापक मनोजकुमार यादवले चर्को घाम र अत्यधिक गर्मीका कारण बालबालिकालाई विद्यालय आउन तथा कक्षाकोठामा बसेर पढ्न असहज भइरहेको जानकारी दिए ।
गर्मी छल्नका लागि यहाँका पोखरी, नहर, खोलामा बालबालिकाहरु पौडी खेलिरहेको देखिन्छ । टन्टलापुर घाम र उखरमाउलो गर्मीका कारण यहाँका हाटबजार र सडकमा मानिसको उपस्थिति घटेको छ ।
असोज लागेपछि विस्तारै चिसो पस्ने भएपनि भदौ अन्तिमको गर्मीले दैनिकी नै कष्टपूर्ण पारेको सर्वसाधारणको भनाई छ । चिकित्सकले यो गर्मीमा प्रशस्त पानी पिउन र अत्यावश्यक काम पर्दा बाहेक घाममा ननिस्कन सुझाव दिएका छन् ।
यसैबिच यसैबीच आज बेलुकादेखि पर्सि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने भएकाले केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउन समेत आग्रह गरेको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ ।
महाशाखाले पानी पर्दा हुनसक्ने बाढी, पहिरो, डुवान तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा बढ्न सक्ने पानीको सतहलाई ख्याल गरी सावधानी अपनाउन भनेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।