कौडेना गाउँपालिकाको कार्यालय ।
गोडैता, भदौ २२ – सर्लाहीका स्थानीय तहले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि ताकेता गरेका छन् ।
भदौ महिनाभर नवीकरण गर्न नआए सामाजिक सुरक्षा भत्ता नपाइने भएकाले छुट भएका सेवाग्राहीलाई तत्काल आफ्नो वडा कार्यालयमा गएर नवीकरणको काम सक्न पालिकाहरुले ताकेता गरेका हुन् । नगरपालिका तथा गाउँपालिका र वडा कार्यालयले धमाधम सूचना जारी गर्दै तत्काल वडा कार्यालयमा आएर भत्ता नवीकरण गराउन आग्रह गरिरहेका छन् ।
जिल्लाको गोडैता नगरपालिकाले अझै एक हजार ७४९ जना सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन बाँकी रहेको जनाएको छ । गोडैता नगरपालिकाको सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका प्रमुख राजकुमार महतोका अनुसार नगरपालिकाको वडा नं. १ देखि १२ सम्म ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, बालबालिकासहित सामाजिक सुरक्षा भत्ता पाउने आठ हजार ९९१ जनामध्ये सात हजार २४२ जनाले मात्रै नवीकरणको काम सकेका छन् ।
गोडैता नगरपालिका १२ का वडाध्यक्ष केशव कुमारले सामाजिक सञ्जालबाट र गाउँगाउँमा माइकिङ गरेर अनुरोध गर्दा पनि आफ्नो वडामा १३४ जना लाभग्राहीको सामाजिक सुरक्षा भक्ता नवीकरण हुन बाँकी रहेको जानकारी दिए ।
लालबन्दी नगरपालिकाले पनि सूचना जारी गर्दै चालू आर्थिक वर्षमा नगरपालिकाभित्र भत्ता प्राप्त गर्ने अधिकांश लाभग्राहीको नवीकरण छुट हुन गएको देखिएकाले नवीकरण गर्ने अवधि केही दिनमात्रै बाँकी रहेकाले भदौ २५ गतेसम्ममा वडा कार्यालयमा गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न अनुरोध गरेको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता प्राप्त गर्न प्रत्येक वर्षको साउन र भदौ महिनामा भत्ता नवीकरणको निवेदन पेश गर्नुपर्ने कानूनी प्रावधान रहेकोमा नवीकरण नगर्ने सेवाग्राहीको लगत स्वतः कट्टा हुने र २०८१ श्रावण महिनादेखिको भत्ता रकम भुक्तानी नहुने स्थानीय तहहरुले उल्लेख गरेका छन् ।