मलंगवा, २२ भदौ – प्रहरीले सर्लाहीको बेग्लाबेग्लै स्थानबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले बागमती नगरपालिका–१२, बथाने टोलबाट सोही स्थानका ५५ वर्षीय ओमप्रकाश वर्नवाललाई ३३० एम्पुल लागुऔषसहित पक्राउ गरेको छ । लागुऔषधको कारोवार भइरहेको सूचना पाएर परिचालित भएको प्रहरी टोलीले घरमा लुकाइराखेको डाइजेपाम ११४ एम्पुल, नोफिन १०२ एम्पुल र फेनरगन ११४ एम्पुलसहित वर्नवाललाई पक्राउ गरेको हो ।
यस्तै प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरी टोलीले पर्सा गाउँपालिकास्थित सीमावर्ती क्षेत्रबाट हरिवन नगरपालिका–९, बस्ने २४ वर्षीय धर्मेन्द्र राउतलाई लागुऔषधसहित पक्राउ गरेको छ । भारतबाट प्रदेश १–०१–०२–०५४ प ४८३४ नम्वरको मोटरसाइकलमा लुकाइछिपाई लागुऔषध लिएर आउँदै गरेका राउतको साथबाट प्रहरीले एक सय एमएलको वानसिरेक्स २०१ बोतल बरामद गरेको छ ।
त्यस्तै प्रहरी चौकी सिमरा फेन्हराले विष्णु गाउँपालिकाको सीमावर्ती क्षेत्रबाट कोडिवेल सिरफ एक सय एमएलको १९७ बोतल र नाइट्राभेट ट्याब्लेट १० वटा पत्तामा रहेको एक हजार ४४० पिस बरामद गरेको छ । यहाँ भने लागुऔषध लिएर आएका व्यक्ति प्रहरीलाई देख्नासाथ लागुऔषध फालेर फरार भएका छन् ।