मलंगवा, २० भदौ – सर्लाहीमा आज बिहानैदेखि सिमसिम वर्षा भइरहेको छ ।
केही स्थानमा भने मध्यमखालको पानी परिरहेको स्थानीयले बताएका छन् । यहाँ हिजो र अस्ती बेलुका लगातार दुई दिन चट्याङसहित पानी परेको थियो ।
कतै ठूलो पानी पर्ने र नजिक अर्को ठाउँमा सामान्य वर्षा हुने भइरहेको छ । आज भने बिहानैबाट मेघगर्जनसहित मौसम बदली भएर जिल्लाको सबैजसो भू–भागमा हल्का वर्षा भइरहेको हो । पानी नपरेको ठाउँहरुमा कालोमैलो भएर मौसम धुम्मिएको छ । मौसममा आएको बदलीले तत्काल गर्मी कम हुँदा स्थानीयले राहत पाएका छन् ।
हिजोआज घाम चर्किने र पानी पर्ने भइरहँदा मौसम परिवर्तनजन्य संक्रमण : ज्वरो, रुघाखोकी, घाँटी दुख्नेजस्ता समस्याले धेरैलाई सताइरहेको छ । यस्तो मौसम भएका बेला डेंगुको उच्च जोखिम हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकले अनुरोध गरेका छन् । अहिले परेको पानीले धान बालीका लागि धेरै राम्रो काम गरेको छ ।
गोलभँेडाको बेर्ना सारिरहेका किसानलाई भने समस्या पारेको छ । पानी परिरहँदा ब्याडमा रहेको बेर्ना सार्न नपाएको र सारेको पनि पानी परेर क्षति गरेको किसानले गुनासो गरेका छन् ।
यो वर्ष असारदेखि नै पानी पर्नेक्रम निरन्तरजसो भइरहँदा चुरेभेगका वासिन्दाको दैनिकी भने कष्टकर बनेको छ । पानी परिरहेर खोलामा पानी नघट्दा गाडी चल्न नपाएको र घण्टौँ पैदल हिँडेर गाडी चल्ने चुरेको फेदीसम्म आइपुग्दा बाढीले बगाउने डर रहेको चुरेभेगका स्थानीयले गुनासो गरेका छन् । यसैबिच, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।