logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दशैँअघि नै हरिपूर्वाको सवस्टेशन संचालन हुने


  • उज्यालो अभियान

हरिपूर्वामा अलपत्र रहेको विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)

हरिपूर्वा, २० भदौ – सर्लाहीको हरिपूर्वा नगरपालिकामा दुई वर्षअघि निर्माण गरिएको विद्युत् सवस्टेशन संचालनको तयारी भएको छ ।

नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले ढिलोमा अबको एक महिनाभित्र सवस्टेशन संचालन हुने दावी गरे । हरिपूर्वा बजार क्षेत्र र ईश्वरपुर नगरपालिकास्थित श्रीनगर महारानी बजार क्षेत्रमा बिजुलीको पोल गाड्ने विषयमा लामो समयसम्म विवाद हुँदा सवस्टेशन बनेको दुई वर्षसम्म अलपत्र रहेको छ ।

प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरबाटै प्राविधिकसहितको टोली खटिएर केही साताअघि मात्रै हरिपूर्वामा बिजुलीको पोल गाड्ने काम सम्पन्न गरेका थिए । त्यस्तै महारानी बजार क्षेत्रमा गत आइतबार मात्रै पोल गाड्ने काम पूरा भएको छ ।

प्रादेशिक कार्यालय जनकपुरका प्रमुख ठाकुरले हरिपूर्वामा यसअघि गाडेर ढलेका दुईवटा पोल उठाउन बाँकी रहेको बाहेक अब पोल गाड्ने र तार टाङ्ने काम लगभग पूरा भएको जानकारी दिए । उनले अब विद्युत् सवस्टेशन चार्ज गर्नुअघि आम सर्वसाधारणलाई तार नछुन आग्रहसहितको एक हप्ते सूचना प्रकाशित गर्ने तयारी रहेको बताए ।

त्यसपछि सवस्टेशनको ट्रान्सफर्मर चार्ज गर्न एक हप्ता लाग्छ । यि सबै काम एक महिनाभित्रैमा पूरा गरेर सवस्टेशन संचालनमा ल्याउने तयारी रहेको प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख ठाकुरले बताए ।

उनले भने–“अब कुनै समस्या छैन, प्राविधिक काम पूरा गरी दशैँ अगाडि नै हरिपूर्वाको सवस्टेशन चालू गछौँ ।” निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि पोल गाड्ने विषयको विवादले सवस्टेशन चल्न नसकेपछि प्राधिकरण्को जिल्लास्थित लालबन्दी र मलङ्गवा वितरण केन्द्र, प्रादेशिक कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय सर्लाही, ईश्वरपुर नगरपालिका र हरिपूर्वा नगरपालिकाले सक्रियता देखाएर पोल गाड्ने काम पूरा गरेका हुन् ।

हरिपूर्वाको सवस्टेशन चालू नहुँदा जिल्लाको पूर्वी भेगमा सदरमुकाम मलङ्गवादेखि बत्ती ल्याउनुपर्दा लामो प्रशारण लाइनका कारण छिनछिनमै बत्ती कट्ने, बत्ती आउँदा भोल्टेज नहुने, कुनै प्राविधिक गढबढी हुँदा १२ घण्टा भन्दा बढी समय बत्ती नआउने जस्ता समस्या थियो । हरिपूर्वाको सवस्टेशन सञ्चालन भएपछि पूर्वी बेल्टको हरिपूर्वा नगरपालिका, ईश्वरपुर नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र चन्द्रनगर गाउँपालिकाको विद्यूत् नियमित हुनुका साथै भोल्टेजको स्तर बढ्ने प्राविधिकले बताएका छन् ।

पूर्व पश्चिम राजमार्गस्थित बाँके चोकमा ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर श्रीनगर, वसन्तपुर, हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका २ मा निर्माण भएको सवस्टेशनमा पुर्याइने छ । सवस्टेशनबाट ११ केभीको दुईवटा फिडरबाट उपभोक्तालाई बिजुली वितरण गर्ने प्राधिकरणको तयारी छ ।