logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

राति १२ बजेसम्म खटिएर गाडियो पोल, अब हरिपूर्वा क्षेत्रको काम बाँकी


  • उज्यालो अभियान

श्रीनगर , १७ भदौ – हरिपूर्वाको विद्युत् सवस्टेशन संचालनका लागि सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, महारानी बजार क्षेत्रमा बिजुलीको पोल गाड्ने काम सकिएको छ ।

पोल गाडेर तार विस्तार गर्ने विषयमा लामो समयदेखि विवाद भएपछि हिजो बिहान सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साह तेली, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनेन्द्र ठाकुरसहितको उपस्थितिमा छलफल भएको थियो ।

सोही छलफलका आधारमा पहिले गाडिएको स्थानदेखि केही मिटर पश्चिमतर्फबाट पोल गाड्ने काम सम्पन्न गरिएको हो । ईश्वरपुर नगरपालिका १३ का वडाध्यक्ष तिलबहादुुर तामाङ (तिलक) ले राति १२ बजेसम्म काम गरेर पोल गाड्ने काम सकिएको जानकारी दिए । उनका अनुसार हिजो बिहानको छलफल लगत्तै प्राधिकरणले पोल गाड्ने र तार तान्ने काम अघि बढाएको थियो ।

चारवटा मात्रै पोल गाड्ने विषयमा विवाद उत्पादन हुँदा हरिपूर्वाको सवस्टेशन सञ्चालन हुन सकिरहेको छैन् । प्राधिकरणले पूर्व पश्चिम राजमार्गस्थित बाँके चोकबाट महारानी बजार, श्रीनगर, वसन्तपुर, हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका २ मा रहेको विद्युत् सवस्टेशनसम्म बत्ती लैजाने तयारी गरेको छ ।

महारानी बजारमा यसअघि नै पोल गाडिए पनि जग्गाको विवाद अदालतसम्म पुगेपछि काम अघि बढ्न सकेको थिएन । महारानी बजार क्षेत्रको विवाद मिलाएर रातारात पोल गाड्ने काम पूरा भएसँगै हरिपूर्वामा दुई वर्षदेखि अलपत्र विद्युत् सवस्टेशन संचालन हुने आश पलाएको छ । हरिपूर्वा नगरपालिका क्षेत्रमा समेत यसअघि गाडिएका केही पोल ढलेका छन् ।

अब ति ढलेका पोल तत्काल उठाएर हरिपूर्वाको विद्युत् सवस्टेशन संचालनको पहल गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हरिपूर्वाको सवस्टेशन संचालन भएपश्चात सर्लाहीको पूर्वी बेल्ट ईश्वरपुर, हरिपूर्वा, चन्द्रनगर र पर्सा क्षेत्रको विद्युत् आपूर्ति सहज बन्ने अपेक्षा गरिएको छ ।