बसबरिया, १७ भदौ – सर्लाहीको बसबरिया गाउँपालिकामा आज आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले संचालन गरेको स्वास्थ्य कार्यक्रमको समिक्षा गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायको अध्यक्षतामा स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गरिएको हो । जसमा नगरभित्रका स्वास्थ्यकर्मी, जनप्रतिनिधिसहित अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख जयलाल सहनीले गत आर्थिक वर्षका १२ महिनासम्म स्वास्थ्य अन्तर्गत गाउँपालिकाभित्र भएका गतिविधि, स्वास्थ्य संस्थाबाट सेवा लिने सेवागा्रहीको विवरण सार्वजनिक गरे ।
उहाँले एक वर्षमा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाबाट ३३ हजार ८४३ जनाले सेवा लिएका उल्लेख गर्दै बर्थिङ सेन्टरमा ३४० जनालाई सुत्केरी गराइएको, महिला स्वयंसेविकाले घरघरमै पुगेर २४ हजार १०४ जनालाई सेवा दिएको, ४ हजार ९३५ जना बालबालिकालाई खोप लगाइएको, २४ जना क्षयरोगी र ४ जना कुष्ठरोगी फेला परेको लगायत विवरण सार्वजनिक गरे ।
समिक्षा कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखाले उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सम्मान समेत गरेको छ ।