बयलवास, १७ भदौ – सर्लाहीको ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा रेबिजविरुद्धको भ्याक्सीन सेवा सुरु भएको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले नगर अस्पताल बयलवासलाई रेबिजविरुद्धको भ्याक्सीन पठाउन थालेसँगै आजबाट औपचारिक रुपमा सेवा सुरु गरिएको हो । नगर अस्पताललाई तत्कालका लागि मासिक रुपमा ४० भाइल भ्याक्सीन उपलब्ध गराउने गरी कोटा निर्धारण भएको ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले जानकारी दिए ।
उनका अनुसार नगरभित्र यसअघि कुुकुरले टोकेका बिरामीलाई रेबिजको भ्याक्सिन लगाउन लालबन्दी नगर अस्पताल वा प्रादेशिक अस्पताल मलङ्गवा पठाउने गरिएको थियो । निरन्तरको पहलपछि अब नगर अस्पतालमै रेबिजको भ्याक्सिन उपलब्ध भएको नगरप्रमुख मनोजकुमार आचार्यले बताए ।
नगरप्रमुख आचार्य आफै बसेर आजबाट नगर अस्पतालबाट रेबिजको भ्याक्सिन लगाउने कार्यको सुरुवात गराउनुभएको ईश्वरपुरका शिक्षक नाथुराम चौधरीले जानकारी दिए ।