logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जुटपानी आश्रमका बुवालाई सम्मान


  • उज्यालो अभियान

नवलपुर, १७ भदौ – कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर आज सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रय दिएर राखिएका वृद्धलाई सम्मान गरिएको छ ।

आफ्ना सन्ततीबाट अपहेलित भई आश्रममा आएर बस्न बाध्य बुवालाई दोसला ओढाएर सम्मान गरिएको हो । वृद्धहरुलाई मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेली, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, भैरवी दलगण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, आश्रमकी संरक्षक भवानी कोइराला, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामालगायत भएर सम्मान गरे ।

 

आश्रमले पालनपोषण गरेर राखेको बुवालाई सम्मान गर्दै प्रदेशसभा सदस्य लुङ्गेलीले पछिल्लो समय शिक्षित छोराछोरीले पनि आफ्ना बुवाआमालाई आश्रममा आएर बस्न बाध्य पारेकोप्रति चिन्ता व्यक्त गरे । उनले घरमै पनि आफ्नै छोरा, बुहारीबाट वृद्ध बुवाआमा प्रताडित बन्नु परेकोप्रति दुःख व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पछिल्लो समय छोराछोरी बाहिर बस्ने र यहाँ आमाबुवाले सन्तानको माया नपाउने अवस्था बढ्दै गएको बताए ।

आश्रमका प्रमुख संरक्षक बासुदेवशरण कोइरालाले अनेक दुःखकष्ट र अभाव झेलेर वृद्धवृद्धाको सहारा बनिरहेको उल्लेख गर्नुभयो । हरेक वर्ष भदौ कृष्ण पक्षको औँसीका दिन मनाइने कुशे औँसी पर्वका अवसरमा आश्रमले आश्रममा आश्रीत वृद्धहरुलाई सम्मान गर्ने गरिएको छ ।

कार्यक्रम संचालन गर्न भैरवीदल गण पाँचकुमारी ब्यारेकले पनि सहयोग गरेको थियो ।