कौडेना, १७ भदौ – सर्लाहीको कौडेना गाउँपालिका–३, मा कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना गरिएको छ ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत विश्व बैङ्कको आर्थिक सहयोगमा सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र स्थापना गरिएको हो । सेवा केन्द्रको भवन निर्माणका लागि दुई करोड २७ लाख ७६ हजार ३३३ रुपियाँ खर्च गरिएको छ ।
कृषि तथा पशुपन्छी सेवा केन्द्रको आज गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु), उपप्रमुख नगीना देवी र ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका आयोजना निर्देशक चन्द्रप्रसाद रिसालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
गाउँपालिका अध्यक्ष बब्लुले आगामी बुधबारदेखि सेवा केन्द्रमा गाउँपालिकाबाट कृषि र पशु प्राविधिक राखेर आमकृषकलाई सेवा प्रदान गरिने बताए । सेवा केन्द्रबाट कृषितर्फ किसानलाई माटो परीक्षणदेखि खेती लगाउने र खेती लगाएपछि बालीनालीमा कुनै रोग, कीराको प्रकोप देखिए त्यसबारे कृषि प्राविधिकबाट उचित सल्लाह सुझाव प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै पशु सेवा केन्द्रमा बस्ने पशु प्राविधिकबाट किसानले ल्याउने बिरामी पशुचौपायको औषधि उपचारदेखि कृत्रिम गर्भधारणसहितका सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
अधिकांश स्थानीय कृषि र पशुपालनमा निर्भर रहेको गाउँपालिकामा गाउँमै सिंहदरबारको सेवा दिने उद्देश्यसहित कृषि तथा पशुपन्छी सेवा केन्द्र खोलिएको गाउँपालिका अध्यक्ष बब्लुको भनाई छ ।