लालबन्दी, १५ भदौ – नेत्रबिक्रम चन्द (विप्लव) ले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले आज लालबन्दीमा अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा अन्तरक्रिया गरेको छ ।
सो पार्टीले जिल्लाका अन्य पार्टीका नेताहरु समेतलाई बोलाएर पुरानो नगरपालिका भवन लालबन्दी ६ मा एमसीसीको विषयमा बृहत अन्तरक्रिया गरेको हो । विप्लव समूहले एमसिसी परियोजनालाई राष्ट्रघाती भन्दै सम्झौता खारेजीको माग गरेको छ । एमसिसी परियोजना, आर्थिक तथा राजनीतिक संकट र निधान विषयक अन्तक्र्रिया कार्यक्रम नेकपाका जिल्ला इन्चार्ज कमल सि को अध्यक्षता तथा स्थायी कमिटी सदस्य अनिल सि को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी भई माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज अच्यूतम काफ्ले, एकीकृत समाजवादीका जिल्ला उपसचिव धनबहादुर मिक्चन, एमालेबाट भर्खरै विप्लव समूहमै प्रवेश गरेकी पूर्व सांसद शिलादेवी मिक्चन, माओवादी नेतृ बिनिता दाहाल, नेकपाकै केन्द्रिय सदस्य पवन महतोलगायतले मन्तव्य व्यक्त गरेका कार्यक्रम संचालक एवं नेकपाका जिल्ला सेक्रेटरी जनक सि ले जानकारी दिए ।