लालबन्दी, १४ भदौ – सर्लाहीको मौसम आज बिहानैदेखि सफा छ । यहाँ बिहानैदेखि चर्को घाम लागेर मौसम उघ्रिएको हो ।
गएसाँझ भने एक्कासी मौसम बद्ली भई जिल्लाभर हावाहुरीसहित वर्षा भएको थियो । यो पटक सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा तुलनात्मक रुपमा बढी वर्षा भएको छ । हावाहुरीसहित ठूलै पानी परेपनि आज बिहानसम्म जिल्लाभर कहिँकतैबाट कुनै प्रकारको क्षतिबारे खबर नआएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
केही दिन वर्षा नहुँदा धान बालीका लागि पानीको अभाव हुन थालिसकेको थियो । रातिको पानीले धान बालीलाई तत्काल पानीको अभाव टरेको छ । असार अन्तिमतिर देखि नै यो वर्ष बेलाबेलामा पानी परिरहेकाले धानको बोट राम्रोसँग हुर्किरहेको छ ।
पानी परिरहँदा किसानले गोलभेँडासहित अन्य तरकारीको बेर्ना समेत सार्न पाइरहेका छैनन् । राति हावाहुरी, पानी र चट्याङले गर्दा जिल्लाभर नै विद्युत् असाध्य अनियमित भएको थियो । रातभर नै प्राविधिक खटाएर विद्युत् सूचारु गरिएको नेपाल विद्युत् प्राधिकरणको लालबन्दी, मलंगवा र बरहथवा वितरण केन्द्रले जनाएका छन् ।
बत्ती गइरहने समस्या समाधान भएको र ग्रामीण भेगमा कतै समस्या देखिए अब आज प्राविधिक खटिएर काम गर्ने बताइएको छ ।