logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विविध कार्यक्रम गरी संविधान दिवस ३ दिनसम्म मनाइने


  • उज्यालो अभियान

मलंगवा, १४ भदौ – सर्लाहीमा संविधान दिवस विभिन्न कार्यक्रम गरी ३ दिनसम्म मनाइने भएको छ ।

संविधान दिवस–२०८१ मनाउने सम्वन्धमा मलंगवामा आज बसेको समन्वय बैठकले आगामी असोज २, ३ र ४ गते विभिन्न प्रकारका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो । दिवस मनाउन जिल्ला स्तरमा जिल्ला समन्वय समितिका प्रमुख र पालिकाहरुमा सम्वन्धित पालिकाका प्रमुखको नेतृत्व समिति गठन गर्ने पहिलो निर्णय गरिएको छ ।

त्यस्तै असोज २, ३ र ४ गते प्रत्येक कार्यालय परिसरमा राष्ट्रिय झण्डालाई मर्यादापूर्वक सजाएर साँझ दीप प्रज्वलन गर्ने, असोज २ गते प्रत्येक स्थानीय तहको अगुवाईमा कुनै सार्वजनिक स्थलमा सरसफाई गर्ने, दिवसको मुख्य दिन असोज ३ गते प्रत्येक पालिकामा प्रभातफेरि निकाल्ने र मलंगवामा प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने, असोज ४ गते डिभिजन वन कार्यालय र स्थानीय तहको आयोजनामा वृक्षरोपण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

यि कार्यक्रमका अतिरिक्त स्थानीय तह तथा अन्य संघसंस्थालाई संविधान दिवस लक्षित वतृत्वकला, खेलकुद, रक्तदान, शैक्षिक सामग्री वितरण, स्वास्थ्य परीक्षण, अनाथालय वा वृद्धाश्रमलाई सहयोग, सम्मान, परिसम्वादजस्ता कार्यक्रम गर्न अनुरोध गरिएको छ ।