logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पानी पर्न रोकिएर चर्कियो घाम, बिजुली अनियमित हुँदा झनै सास्ती


  • उज्यालो अभियान

लालबन्दी, १३ भदौ – सर्लाहीमा पानी पर्न रोकिएर चर्को घाम लाग्न थालेसँगै गर्मी पुनः बढेको छ ।

केही दिनदेखि वर्षा रोकिएसँगै उखरमाउलो गर्मी फर्किएको हो । मध्य भदौको गर्मीले मानिस प्रभावित बन्न थालेका छन् । बिहानदेखि अपरान्हसम्म एकटन्कारले चर्को घाम लागेर असाध्य गर्मी हुँदा विद्यालय जाने बालबालिका, बाहिर निस्किएर काम गनुपर्ने मजदुर, किसान, विभिन्न ठाउँमा पुग्नुपर्ने यात्रुलगायत आम सर्वसाधारण प्रभावित बनेका छन् ।

यही चर्को गर्मीमा लालबन्दी वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा हिजोबाट बिजुली बत्ती थप अनियमित बनेको छ । नवलपुर–सलेमपुर १३२ केभी आयोजनाले नवलपुर ग्रिड सवस्टेशन भित्र टावरको लागि जग खन्दा लालबन्दीतर्फ आएको केबुल काट्दा यस भेगमा बिजुली गइरहने र आउँदा पनि भोल्टेज कम हुने भइरहेको छ ।

नवलपुरमा उक्त समस्या आएपछि लालबन्दी वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा हरिपुर फिडरबाट बत्ती जोडिएको छ । नजिकैको सवस्टेशनबाट बत्ती तानिरहेको ठाउँमा क्षमता कमजोर रहेको हरिपुर फिडरबाट बत्ती जोड्दा ओभरलोडले गर्दा बत्ती कट्ने र भोल्टेज नपुग्ने समस्या आएको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले आज दिनभरमा नवलपुरको काम सकेर त्यहीबाट लाइन जोड्ने तयारी गरिएको बताए । अत्यधिक गर्मी बढ्नासाथ मलंगवा र बरहथवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा पनि ओभरलोडले गर्दा बत्ती आउने–जाने समस्या बढेको स्थानीयले गुनासो गरेका छन् ।

विवादका कारण हरिपूर्वामा रहेको सवस्टेशन चालू हुन नसक्दा जिल्लाको पूर्वी भेगमा बिजुली बत्तीको अझ बढी समस्या छ ।