हरिपुर, १२ भदौ – सर्लाहीको हरिपुर नगरपालिका–८, मा आज भैँसीको बाँझोपन उपचार सम्वन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ ।
हरिपुर सामाजिक उद्यमी महिला सहकारी संस्था हरिपुर ८ ले इन्टरनेशनल लाइभस्टक रिसर्ज इष्टिच्यूट र हरिपुर नगरपालिकासँग समन्वय गरी भैँसीमा हुने बाँझोपनको उपचारका लागि निःशुल्क शिविर सम्पन्न गरेको हो । शिविरमा २८ वटा भैँसीको बाँझोपन सम्वन्धी उपचार गरिएको छ । जसमा २ वटा भैँसीलाई कृत्रिम गर्भधारण गरिएको छ भने अन्य २६ वटालाई गर्भधारण नहुने समस्याको उपचार गरिएको आयोजकले जनाएको छ ।
शिविरमा पशु अनुसन्धान केन्द्र (नार्क) का डा. पवनकुमार झा र भैँसी अनुसन्धान केन्द्र तरहरा, सुनसरीका डा. राजकुमार चौधरीले भैँसीको उपचार गरेका छन् ।
हरिपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष गौरी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर गोपाल पन्जियारको प्रमुख आतिथ्यतामा शिविरको समापन गरिएको संस्थाका बजार व्यवस्थापक सोमबहादुर श्रेष्ठले जानकारी दिए ।