सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, १२ भदौ – सदरमुकाम मलंगवासहित सर्लाही जिल्लाभर आज श्रीकृष्ण जन्माष्टमीको मूर्ति शान्तपूर्वक रुपमा विर्सजन गरिएको छ ।
यो पर्व अस्ती सोमबार नै मनाइएको भएपनि मूर्ति भने आज सेलाइएको हो । अघिल्ला वर्षहरुमा मूर्ति विर्सजन गर्न लैजानेक्रममा झडप भएको घटनालाई ध्यान दिँदै सदमुकाम मलंगवामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
आज मूर्ति विर्सजन गर्न लैजाँदा सँगसँगै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए । झडप हुन नदिन अस्ती सोमबार देखि नै मलंगवामा उच्च सावधानी अपनाइएको छ ।
श्रीकृष्ण जन्माष्टमीको मूर्ति आज साँझसम्ममा नजिकैको पोखरी, खोला, नहरलगायतका जलाशयमा लगेर विर्सजन गरिएको हो । मलंगवामा मात्रै ९ स्थानमा श्रीकृष्ण जन्माष्टमीको मूर्ति स्थापना गरेर पूजाआरधाना गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालकुमार अधिकारीले सदरमुकाम मलंगवासहित जिल्लाभर विवादरहीत रुपमा मूर्ति विर्सजन भएको बताए । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मूर्ति विर्सजनका क्रममा सामाजिक सद्भाव कायम राख्न र कसैलाई बाधाब्यवधान पुग्ने गतिवविधि नगर्न अनुरोध गरेको थियो ।
जिल्लाका सुरक्षा अधिकारीले पनि यो पटक कुनैखाले असहजस्थिति सिर्जना हुन नदिन यो पटक व्यापक सावधानी र सबै पक्षसँग छलफल गरेका थिए ।
सीडीओ अधिकारीले जिल्लाभर शान्तपूर्वक रुपमा मूर्ति विर्सजन गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।