मलंगवा, ०९ भदौ – जिल्ला प्रशासन कार्यालय सर्लाहीले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि तत्काल राष्ट्रिय परिचयपत्रको नम्वर आवश्यक नपर्ने प्रष्ट पारेको छ ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीले आज एक सूचना जारी गर्दै भत्ता नवीकरणका लागि परिचयपत्र नम्वर आवश्यक नपर्ने भनी सरकारबाटै निर्णय भई सबै स्थानीय तहलाई पत्राचार तथा सूचना भइसकेको उल्लेख गरेका छन् । उनले सरकारबाट यस प्रकारको निर्णय भइसक्दा पनि कतिपय वडाहरुले राष्ट्रिय परिचयपत्र नम्वर माग गर्ने गरेको गुनासो आएकोले राष्ट्रिय परिचयपत्र नहुने लाभग्राहीको समेत सामाजिक सुरक्षा भत्ताका लागि दर्ता तथा नवीकरण गर्ने व्यवस्था मिलाउन सबै वडा कार्यालयलाई आग्रह गरेका छन् ।
राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न नपाउँदा तथा विवरण दर्ता गराएपछि पनि प्राविधिक समस्याले नम्वर प्राप्त गर्न नसकेका सेवाग्राहीले भत्ता नवीकरण गर्न पाएका छैनन् । उनीहरुले अब भत्ता नवीकरण गर्न परिचयपत्रका लागि पर्खिरहनु नपर्ने भएको छ ।
भत्ता नवीकरणका लागि परिचयपत्र नम्वर अनिवार्य भनिएपछि अहिले जिल्ला प्रशासन कार्यालय मलंगवा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा परिचयपत्रका लागि फोटो खिचाउने र विवरण भर्नेको अत्यधिक भिड लागिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयमा दैनिक २५० जना, इलाका प्रशासन कार्यालय हरिवनमा १५० जना र इलाका प्रशासन कार्यालय बरहथवामा ५० जनाको हाराहारीमा परिचयपत्रका लागि विवरण दर्ता गराउन पुग्ने सेवाग्राही हुन्छन् । कार्यालयलाई भिड थेग्न र सेवाग्राहीलाई घण्टौँ पालोमा बसेर सेवा लिन गाह्रो परिरहेको छ ।
तर, अब भने तत्कालका लागि भत्ता नवीकरण गर्न भिडभाड गरेर राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनु नपर्ने भएको छ ।