मलंगवा, ०८ भदौ – नेपाली कांग्रेस क्षेत्र नं. २ ले आज सदरमुकाम मलंगवामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जानकी पार्टी प्यालेस मलंगवामा पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य सुनिल शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । क्षेत्र नं. २ (क) का सभापति सतेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व जिल्ला सभापति लक्ष्मण राय, महेन्द्र साह, सत्यदेवसिंह दनुवार, संविधान सभा सदस्य रामचन्द्र चौधरी, प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, क्षेत्र नं. १ का सभापति हरिबहादुर लुंगेलीलगायतले बोले ।
कार्यक्रमलाई सम्वोधन गर्दै मेडिकल व्यवसायी समेत रहेका कांग्रेस नेता सुनिल शर्माले आगामी असोज पहिलो साता सर्लाहीको ४ वटै निर्वाचन क्षेत्रमा बृहत स्वास्थ्य शिविर चलाउने र शिविरमा जटिल समस्या भएका बिरामी देखिए विराटनगर वा काठमाडौं लगेर उपचार गराइदिने बचन दिएका छन् ।
शर्माले आज बिहान कौडेना गाउँपालिका २ फूलपरासी पुगेर दुवै मृगौला फेल भएका १९ वर्षीय किशोर ललन यादवसँग भेटेका छन् । काठमाडौं मेडिकल कलेजका संचालक शर्माले ललनको उपचारमा सहयोग गर्ने वचन दिए ।