फाइल तस्बीर ।
लालबन्दी, ०७ भदौ – सर्लाहीमा गएको सोमबारदेखि पानी पर्ने र रोकिनेक्रम जारी छ ।
लगातारजसो पानी नपरेपनि केही घण्टा मौसम उघ्रिने र केहीबेरमै पानी पर्ने क्रम चलिरहेको हो । आज बिहानपख जिल्लाको लालबन्दीसहित आसपासको भेगमा एक झर पानी परेको छ ।
हिजो अपरान्हपख पनि उत्तरी भेगका केही क्षेत्रमा पानी परेको थियो । तर, सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा तुलनात्मक रुपमा निकै कम पानी परिरहेको छ ।
यो पटक कतै अतिवृष्टि अर्थात् धेरै ठूलो पानी पर्ने र नजिकै अर्को ठाउँमा पानी नै नपर्ने भइरहेको छ । भदौ महिनामा आएर यसरी धेरै मात्रामा खण्डवृष्टि भइरहेको हो ।
पानी नपरेपनि मौसम धाम्मधुम्म भने भइरहँदा नागरिकले गर्मीबाट केही हदसम्म राहत पाइरहेका छन् । मौसममा आइरहेको बदलीपछि बिजुली बत्ती असाध्य अनियमित हुँदा नागरिक सास्ती बेहोर्न बाध्य छन् ।
लालबन्दीसहितका मुख्य बजार क्षेत्रमा विद्युत् प्रवाहमा समस्या आउनासाथ मर्मत गरेर बत्ती चालू गर्ने गरिए पनि ग्रामीण भेगमा बिजुली बत्ती अवरुद्ध भएपछि प्राविधिक आउनै घण्टौँ लाग्दा विद्युत् ठप्प हुने गरेको स्थानीयले दुःखेसो पोखेका छन् ।
सदरमुकाम मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बिजुली झन धेरै बिजुली बत्ती अवरुद्ध हुने गरेको छ । पर्याप्त वर्षा भइरहँदा यो वर्ष प्रमुख खाद्यान्न बाली धान राम्रोसँग हुर्किरहेको छ ।
किसानले अहिले धान गोडमेल गरेर मलखाद गरिरहेका छन् । नवलपुरमा रहेको कृषि सामग्री कम्पनि लिमिटेडले अहिले किसानका वितरणका लागि सहकारी संस्थाहरुलाई धमाधम युरिया मल पठाइरहेको छ ।