फाईल तस्बिर ।
मलंगवा, ०६ भदौ – सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने सेवाग्राहीको सङ्ख्या घट्न सकेको छैन् ।
सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनेको भिड बढेको बढ्यै छ । लगातार भिड बढिरहँदा व्यवस्थापनमै समस्या परेको कर्मचारीले गुनासो गरेका छन् ।
परिचयपत्रका लागि दिनभरजसो नै लाइनमा बस्नुपर्दा सेवाग्राही हैरान छन् । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा मात्रै दैनिक दुई सय बढी सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आउने गरेका छन् ।
कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले कार्यालयका कर्मचारी र राष्ट्रिय पञ्जिकरण विभागबाट पठाइएका कर्मचारी खटाएर दिनहुँ विवरण लिइरहँदा पनि भिड कम नभएको बताए । उनका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रको नम्वर समेत खुलाउनुपर्ने व्यवस्था गरिएपछि सेवाग्राहीको चाप थेग्नै हम्मेहम्मे परेको हो ।
नागरिकता फाँटको चाप थेग्नै जहिल्यै मुस्किल पर्ने जिल्ला प्रशासन कार्यालयलाई अहिले राष्ट्रिय परिचयपत्रतर्फको थेगिनसक्नु भिडले थप अप्ठेरोमा पारेको छ ।
अत्यधिक भिडभाड भएपछि जिल्ला प्रशासन कार्यालयले एउटा पालिकाका सेवाग्राहीले हप्तामा तीन दिन पालो पाउने गरी राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गरिरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले कतिपय सेवाग्राहीको नागरिकता अत्यन्त पुरानो हुँदा पुनः नागरिकता बनाएर राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नुपर्दा सेवाग्राही दोहो¥याएर आउनुपर्ने स्थिति पनि रहेको बताए ।
भ्याएसम्म सेवाग्राहीलाई एकैदिनमा नागरिकता र राष्ट्रिय परिचयपत्रको दुवै काम सकाएर पठाउने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मलङ्गवासँगै हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालय कार्यालयलाई पनि राष्ट्रिय परिचयपत्रतर्फको भिड व्यवस्थापन टाउको दुखाई बनेको छ ।
इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले दैनिक १३० जना सेवाग्राहीसम्मको विवरण भर्ने काम हुँदै आएको बताए । दुईवटा स्टेशनबाट विवरण भर्ने गरिएकोमा हिजोबाट एउटा स्टेशनका कर्मचारी केही दिनलाई बिदामा बसेपछि थप समस्या परेको थापाले बताए ।
त्यस्तै इलाका प्रशासन कार्यालय बरहथवामा दैनिक ४० देखि ५० जना सेवाग्राहीको राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने काम हुने गरेको छ ।