नारायणखोला, ०६ भदौ – वर्षाले बारम्बार डाँडापाखा र खोलाको बाटो बिगारेर यातायातका साधन सञ्चालन हुन नसक्दा सर्लाहीको चुरेभेगका स्थानीयको दैनिकी असाध्य कष्टकर बनेकोे छ ।
चुरेभेगका बस्ती पर्ने यहाँको चार पालिकामा खोलाबाट सञ्चालन हुने यातायातका साधन अहिले पूर्णरुपमा ठप्प रहेका छन् । चुरेपाखाका वासिन्दा वडा कार्यालय, बजार, स्वास्थ्य संस्था लगायतका ठाउँमा आउनुपर्दा घण्टौँसम्म पैदल हिँड्न बाध्य छन् ।
गर्भवती र गम्भीर अवस्थाका बिरामीलाई झोलुङ्गो वा स्टेचरमा हालेर राजमार्ग क्षेत्रका अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता छ । ईश्वरपुर नगरपालिकाको वडा नं. १२, लालबन्दी नगरपालिकाको वडा नं. १२, १३, १४ र १५, हरिवन नगरपालिकाको वडा नं. १ र बागमती नगरपालिकाको वडा नं. १ मा यस्तो समस्या रहेको छ ।
लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरखबहादुर बलले चुरेभेगमा दशैँअघि गाडी चल्ने अवस्था नरहेको बताए । वडा नं. १५ को चुरेभेगमा फूलजोर र कालिन्जोर खोलाबाट चल्ने बस दुई महिनाअघि देखि ठप्प छन् ।
“बारम्बार बाढी आइरहेकाले दशैँअघि माथि चुरेभेगमा गाडी जान सक्ने अवस्था छैन्,” वडाध्यक्ष बलले भने, “स्थानीयलाई औषधि उपचार र वडा तथा अन्य कार्यालयको सेवा लिन आउन असाध्य समस्या परिरहेको छ ।” सुगम जिल्लाको रुपमा चिनिने सर्लाहीमा चुरेभेगका दर्जनौ दुर्गम बस्ती रहेका छन् ।
स्थानीय हिउँदका महिनामा बस, ट्याक्टर, जीपलगायतका साधनमा चढेर बजारसम्म आउने गरेपनि वर्षायाममा बाढी आउन थालेपछि बाढी घटेको मौका पारेर पैदल हिँडेर गाडी चल्ने ठाउँसम्म आउनुपर्ने बाध्यता छ । लालबन्दी नगरपालिका–१४, नारायणखोलाका स्थानीय भीमबहादुर पाख्रिनले आफू कम्मरसम्मको बाढीमा हेलिएर लालबन्दी बजार आइपुगेको सुनाए ।
उनका अनुसार खोलामा बाढी आइरहेकाले पैदल हिँडेर आउन पनि असाध्य जोखिम छ । पाख्रिनले भने, “नारायणखोलाबाट पत्थरकोटसम्म पैदल हिँड्नुको विकल्प नै छैन्, पत्थरकोटसम्म आएपछि त्यहाँबाट बल्ल गाडी पाइन्छ ।”
लालबन्दी १४ को सिङ्गो वडा नै सडक सञ्जालमा जोडिएको छैन् । खोला भएर जानुपर्ने चुरेभेगका केही स्थानीयले मोटरसाइकल लगायत आफ्ना अन्य सवारी तल चुरेफेदीमै थन्काएर खोलाबाढीमा हेलिएर घरसम्म पुग्ने गरेका छन् ।
बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भिर सिं पाख्रिनले कच्ची बाटो पु¥याएको चुरेभेगमा अहिले मोटरसाइकल, ट्याक्टर केही चल्न सक्ने अवस्था नरहेको बताए । “निरन्तरको वर्षा र वर्षापछि पाखामा बगेर आएको भेलले चुरेभेगको बाटो सबै बिगारेको छ,” वडाध्यक्ष पाख्रिनले भने, “पानी पर्न रोकिएर मर्मत नगरिएसम्म गाडी चल्न सक्ने अवस्था छैन् ।”
चुरेपाखामा गाडी जान नसक्दा बागमती १ को दापडाँडा, वाइवा डाँडा, घट्टे टोललगायत आधा दर्जन बढी बस्तीका ८० भन्दा बढी घरधुरीका स्थानीय समस्यामा परेका वडाध्यक्ष पाख्रिनले बताए ।
चुरेभेगको दुर्गम डाँडापाखामा बसोवास गर्ने कतिपय स्थानीय वैदेशिक रोजगारमा गएर आर्थिक अवस्था राम्रो भएपछि बजार क्षेत्रमा बसाइँ सरेर आउन थालेपनि आर्थिक अवस्था कमजोर रहेका अधिकांश सडक, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सुविधाबाट समेत बञ्चित भई कष्टकर दैनिकी गुजार्न बाध्य छन् ।
कतिपय स्थानीयले आर्थिक अवस्था सुधार हुँदा पनि आफ्नो पुरानो थाकथलो छाड्न इच्छा देखाएका छैनन् ।