logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लाखे नाच्दै मनाइयो गाईजात्रा


  • उज्यालो अभियान

लालबन्दी, ०५ भदौ – दिवङ्गत आफन्तको सम्झनामा लाखे नाच प्रदर्शन गर्दै सर्लाहीको लालबन्दीमा आज नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईलाइै सिङ्गारेर लालबन्दी बजार क्षेत्र परिक्रमा गराई लाखे नाचसहित गाईजात्रा मनाइएको हो । एक वर्षभित्र दिवङ्गत हुनुभएका लालबन्दी नगरपालिका ६ निवासी टेकबहादुर श्रेष्ठ, टेक नारायण श्रेष्ठ, लालबन्दी नगरपालिका ८ निवासी ज्ञानुमाया श्रेष्ठ, छे कुमारी श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ र अनिता श्रेष्ठको सम्झनामा उहाँहरुको घरघरमै पुगेर लाखे नाच्दै लालबन्दी १० स्थित भिमेश्वर गुठीसम्म पुगेर गाईजात्रा मनाइएको गुठीका सचिव धामराज श्रेष्ठ (राजकुमार) ले जानकारी दिए ।

लालबन्दी नगरपालिका ६ स्थित शङ्कर श्रेष्ठको घरबाट सुरु भएको लाखे नाच लालबन्दीको दुर्गा मन्दिर र डुमडुमे मन्दिर परिक्रमा गर्दै अन्य दिवङ्गत व्यक्तिको घरघर हुँदै भिमेश्वर गुठीमा पुगेर टुङ्गिएको हो । गुठी परिसरमा गुठी सञ्चालक समितिका अध्यक्ष सूर्यकुमार श्रेष्ठको अध्यक्षता तथा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लालबन्दी ८ का वडाध्यक्ष शुक्रबहादुर पाख्रिन, वडा नं. १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । गाईजात्रामा लालबन्दी क्षेत्रका नेवार समुदायको उपस्थिति रहेको थियो ।

यस्तै लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेडा गाउँमा पनि हरेक वर्ष झैँ आज गाईजात्रा पर्व मनाइएको छ । एक वर्षभर दिवङ्गत भएका आफन्तको सम्झना गर्दै लाखे नाच्दै छेडा गाउँ परिक्रमा गरेर गाईजाज्ञा मनाइएको स्थानीय चन्द्रदेव श्रेष्ठले जानकारी दिए ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका दिवङ्गत व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ ।