नवलपुर, ०४ भदौ – सर्लाहीमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र चरम विवाद देखिएको छ ।
एउटा समूहले आज नवलपुरमा १८ औँ जिल्ला सम्मेलन गरेर नेतृत्व घोषणा गरेको छ । अखिल क्रान्तिकारीका नेताहरु तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) समेतको उपस्थितिमा एउटा गुटले नवलपुरमा जिल्ला सम्मेलन सम्पन्न गरेको हो ।
तर अर्को समूहले भने यो जिल्ला सम्मेलन आधिकारिक नभएको दावी गरेको छ ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रंजित सहनीले प्रेस विज्ञप्ती जारी गर्दै आज कुनै पनि किसिमको जिल्ला सम्मेलन नभएको र कसैले गरेको भए त्यो अवैध हुने उल्लेख गरेका छन् ।
सहनीले सर्लाही जिल्ला सम्मेलन भदौ १० गतेका लागि तोकिएको उल्लेख गर्नुभएको छ । आज भएको जिल्ला सम्मेलनलाई अवैध भन्ने अखिल क्रान्तिकारीको समूहले आज मात्रै बरहथवामा नेता अच्यूतम काफ्लेको प्रमुख आतिथ्यतामा बरहथवा नगर स्तरीय भेला सम्पन्न गरेको छ ।