logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बजारमा दिनभर मिठाई, फलफूल र राखीको राम्रो व्यापार


  • उज्यालो अभियान

लालबन्दी, ०३ भदौ – रक्षावन्धन अर्थात् जनैपूर्णिमाको दिन आज सर्लाहीका प्रत्येक बजारमा दिनभर मिठाई, फलफूल र राखीको राम्रो व्यापार भएको छ ।

बिहान उज्यालो हुँदादेखि नै पसल अगाडि तथा सडक किनारमा व्यापार गर्न बसेका व्यापारीले साँझसम्म नै मिठाई, फलफूल र राखीको राम्रो व्यापार गरेका हुन् । सर्लाहीको सबैभन्दा ठूलो बजारको रुपमा परिचित लालबन्दी बजारमा आज हाटबजार लाग्ने सोमबार समेत परेकाले मानिसको अत्यधिक भिडभाड देखिन्थ्यो ।

चारैतिरका मानिस लालबन्दी बजार आउने हुँदा विशेष गरी चाडबाडको दशैँमा धेरै नै भिड लाग्छ । आज नवलपुर, हरिवन, बरहथवा, बयलवास, मलंगवा, हरिपुरलगायत सबैजसो हाटबजारमा रक्षाबन्धन र जनैपूर्णिमा प्रयोग हुने फलफूल, मिठाईलगायतको राम्रो व्यापार भएको हाम्रा संवाददाताले जनाएका छन् ।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज सर्लाहीसहित देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइएको छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

आज कतिपयले बिहानै तथा केहीले दिउँसोपख मात्रै रक्षाबन्धक बाध्ने र जनै फेर्ने काम गरे । आज यहाँका विभिन्न खोला तथा मठमन्दिर, चौतारामा जनै धारण गर्नेहरुको चहलपहल देखिन्थ्यो । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको थियो ।

तराई क्षेत्रमा आजका दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षावन्धन मनाएका छन् । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।