हरिपूर्वामा अलपत्र रहेको विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)
श्रीनगर, ०२ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, महारानी बजारमा बिजुलीको पोल गाड्ने विषयमा उत्पन्न विवाद समाधान गर्न हिजो हुने भनिएको बृहत छलफल स्थगित गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीको कार्य ब्यस्तताका कारण हिजोको छलफल रोकिएको हो । अब पुनः अर्को मितिमा छलफल हुने भएको छ ।
महारानी बजारमा पोल गाड्न नपाउँदा जिल्लाको पूर्वी भेग हरिपूर्वामा डेढ वर्षअघि निर्माण गरिएको सवस्टेशन संचालन गर्न सकिएको छैन् । पहिले हरिपूर्वामा समेत पोल गाड्ने विषयमा लफडा भएपनि अहिले भने हरिपूर्वाको समस्या समाधान भएको तर महारानी बजारमा ४ वटा मात्रै पोल गाड्न नपाउँदा अप्ठेरो परिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
हरिपूर्वाको सवस्टेशन चालू गरेर जिल्लाको पूर्वी बेल्टका हरिपूर्वा, चन्द्रनगर, पर्सा क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउने प्रयास प्राधिकरणले गरिरहेको छ । तर, डेढ वर्षअघि नै निर्माण पूरा भएको सवस्टेशन राजनीतिक हानाथाप गरेर पोल गाड्नै नदिँदा संचालन हुन नसकेको हो ।
हरिपूर्वाको सवस्टेशन संचालन नहुँदा हरिपूर्वासहित आसपासका क्षेत्रमा घण्टौँ बत्ती काटिने र बत्ती आउँदा पनि अत्यन्त कम भोल्टेज आउने समस्याले स्थानीय आजित भइरहेका छन् । बाँके चोक हुँदै महारानी बजारतर्फ लान लागिएको ३३ केभी प्रशारण लाइनको चार वटा मात्रै पोल गाड्ने विषयमा विवाद हुँदा सवस्टेशन संचालनमै धक्का लागेको छ ।
बनेको लामो समयसम्म सवस्टेशन चालू नहुँदा सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मरसहित अन्य उपकरण बेवारिसे बनिरहेका छन् ।