मलंगवा, ०२ भदौ – आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् ।
आजपाको सर्लाही जिल्ला भेलालाई आज सदरमुकाम मलंगवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेश विपरीतको सीमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने दाबी गरेका हुन् । यो गठबन्धन नै जनादेश विपरीत केही सीमित नेताको स्वार्थका लागि बनेको उनले बताए ।
भ्रष्ट नेताहरूको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्र विरुद्धको जनआन्दोलनको तयारीमा जुट्न आह्वान गरे ।
डा. नवलकिशोर साहको अध्यक्षतामा सम्पन्न भेलामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह, सचिव उमेश कुशवाहा लगायतका नेताहरूको सहभागिता रहेको स्थायी कमिटी सदस्य रवीन्द्र सिंहले जानकारी दिए ।
भेला गरी पार्टीले सदरमुकाम मलंगवामा र्याली समेत निकालेको छ ।