लालबन्दी, ०१ भदौ – मधेश प्रदेशको प्रमुख थोक तरकारी बजारका रुपमा परिचित पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी तरकारी बजारमा केही दिनदेखि सीमावर्ती क्षेत्रका व्यापारीको ओइरो लागेको छ ।
भिषण वर्षापछि डुबानमा परेर दक्षिणी भेगमा तरकारी बाली धेरै नै नष्ट भएसँगै सीमावर्ती क्षेत्रका व्यापारी तरकारी खरिद गर्न उत्तरी भेगस्थित लालबन्दी बजारमा ओइरिएका हुन् । सीमावर्ती क्षेत्रबाट ठूलो सङ्ख्यामा तरकारी किन्न लालबन्दी बजार आइपुगेका व्यापारीबिच बिहान सबेरै किसानले साइकल र मोटरसाइकलमा हालेर ल्याएको तरकारी किन्न हानाथाप पर्ने गरेको छ ।
केही दिन ठूलो पानी परेर रोकिएपछि अहिले चर्को घाम लाग्न थालेसँगै बाँकी भएका तरकारीका बोट पनि मर्न थालेको छ । कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरनबहादुर मगरले दक्षिणी बेल्टमा तरकारी बाली धेरै नै नष्ट भएकाले नाका छेउबाट आएका व्यापारीले खोसाखोस गरेर तरकारी किनेर लगिरहेका जानकारी दिए ।
“दक्षिणी बेल्टमा तरकारी धेरै नष्ट भएपछि त्यहाँका व्यापारी सबै यत्तै आइरहेका छन्,” बजार समितिका अध्यक्ष मगरले उज्यालो अभियानसँग भने “उत्तरी भेगमा फलेका लौका, परबल, बोडी, भिन्डीजस्ता तरकारी सीमावर्ती बजार र सीमापारी भारतीय बजारसम्म पनि पुगिरहेको छ ।” दक्षिणी भेगबाट धेरै व्यापारी आउँदा लालबन्दीका पुराना व्यापारीले पर्याप्त तरकारी किन्न पाएका छैनन् ।
उनीहरुले काठमाडौंसहित अन्य सहरमा पठाउने तरकारीको परिमाण घटेको छ । बजार समितिका अध्यक्ष मगरका अनुसार अहिले लालबन्दी बजारबाट मलङ्गवा, चन्द्रनिगाहपुर, गौर, वीरगञ्ज, जनकपुरलगायतका छेउछाउका बजारमा १५ टन र काठमाडौंमा ११५ टन तरकारी दैनिक निर्यात भइरहेको छ ।
तरकारी उत्पादन घटेर व्यापारीबिच तरकारी खरिद गर्न हारालुछ पर्दा किसानले भने दुई सातादेखि राम्रो मूल्य पाइरहेका छन् । लालबन्दी नगरपालिका–११, हीरापुरका किसान तीर्थमान घिसिङले अहिले हरेक तरकारीको मूल्यमा प्रतिकेजी २० देखि ३० रुपियाँसम्म बढी मूल्य पाउँदा राहत मिलेको भन्दै खुसी व्यक्त गरे ्