मलंगवा, ०१ भदौ – पानी पर्न रोकिएर दिनभर टन्टलापुर घाम लागिरहँदा सर्लाहीमा विगत ३ दिनदेखि असाध्य गर्मी बढेको छ ।
उखरमाउलो गर्मीका कारण सर्वसाधारण प्रभावित बनेका छन् । चर्को घाम र हपक्क भई गर्मी हुँदा मानिस छटपट्टिने गरेका छन् । यस भेगमा आज पनि बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी छ ।
तराई मधेश क्षेत्रमा भदौभर अत्यधिक गर्मी रहन्छ । गर्मीले मजदुर, किसान, विद्यालय जाने बालबालिका बढी प्रभावित छन् ।
गर्मी बढिरहँदा सर्लाहीमा गर्मीजन्य घाउखटिरा, ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सबै उमेर समूहको मानिसमा यो समस्या देखिएको चिकित्सकले बताएका छन् ।
उनीहरुले घाम चर्किएका बेला घरभित्रै बस्न, सरसफाईमा ध्यान दिन, बेलाबेलामा पानी पिउन, स्वच्छ र सफा खानेकुरा खान सुझाव दिएका छन् । जिल्लाका निजी तथा सरकारी दुवैखाले स्वास्थ्य संस्थामा गर्मीजन्य संक्रमणको बिरामी बढेको पाइएको हो ।
यही गर्मीमा जिल्लाको ग्रामीण भेगमा विद्युत् अनियमित हुने र भोल्टेज नआउने समस्याले स्थानीय हैरान छन् । पंखा नचलाएसम्म गर्मीका कारण घरभित्रै पनि बस्न नसक्ने अवस्था रहेको बेला छिनछिनमै बत्ती काटिने र बत्ती आउँदा पनि भोल्टेज नहुने समस्याले ग्रामीण भेगका स्थानीय मारमा परेका हुन् ।