हरिपूर्वा, ३२ साउन – हरिपूर्वा नगरपालिकामा आज एकैसाथ दुईवटा विद्यालय भवनको शिलान्यास भएको छ ।
नगरपालिकाको वडा नं. ९ स्थित रामजानकी माध्यमिक विद्यालय बसन्तपुरमा ८ करोड बढी बजेटबाट विद्यालय भवन निर्माण हुने भएको छ । उक्त भवन निर्माण कार्यको बिहान मेयर विनोदकुमार साह तेली र उपमेयर सुमित्रा देवि ग्वारनी भएर संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
भवन निर्माणका लागि संघ सरकारको विशेष अनुदान अन्तर्गत प्राप्त बजेटबाट नेशनल अपर जे.भि. सँग ८ करोड पाँच लाख ९६ हजार २५ रुपैयाँ ५६ पैसामा साउन २७ गते मात्रै सम्झौता भएको छ ।
बहु वर्षे योजना अन्तर्गत ३ वर्षभित्र ३ तले विद्यालय भवन, २ तले प्रशासनीक भवन, पुस्तकालय र चमेनागृह निर्माण हुने मेयर साहले जानकारी दिए । रामजानकी माविका प्रधानाध्यापक सन्तोष ठाकुरले नयाँ भवन निर्माण भएपछि पठनपाठनमा थप सहजता आउने विश्वास व्यक्त गरेका छन् ।
मेयर तेलीले विद्यालय भवन शिलान्यासपछि नगरपालिका कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै नगरभित्र पहिलो पटक यतिधेरै बजेटको योजना शिलान्यास गरिएको दावी गरे ।
त्यस्तै, आज नै मेयर साह, उपमेयर ग्वारनी र हरिपूर्वा ८ का वडाध्यक्ष रामेश्वर रायले हरिपूर्वा नगरपालिका–८, स्थित कन्या आधारभूत विद्यालय बसन्तपुरमा विद्यालय भवनको शिलान्यास गरेका छन् ।
यो विद्यालयमा पनि नयाँ भवन निर्माणका लागि केन्द्र सरकारले नै २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हरिपूर्वा नगरपालिकाले जनायो ।