मलंगवा, ३२ साउन – जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बैठकले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना पारित गरेको छ ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्य योजना २०८१ पारित गरेको हो । बाढी, पहिरो, डुबान, आगलागीजस्ता प्राकृतिक विपद् न्यूनिकरण गर्न चालिने कदमलाई समेटेर प्रतिकार्य योजना निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आगलागीजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०७८ को दफा ४ बमोजिम विष्णु गाउँपालिकाका ४३ जना, हरिवन नगरपालिकाका तीन जना, धनकौल गाउँपालिकाका तीन जना, ईश्वरपुर नगरपालिकाका दुई जना र कौडेना गाउँपालिकाका एक जनालाई अनुदान रकम उपलब्ध गराइदिन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।
घिमिरेका का अनुसार बैठकले कौडेना गाउँपालिका–६, र ७ मा भत्किएको लखन्देही खोलाको तटबन्ध बनाउने कार्यको नेतृत्व जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय तथा उक्त गाउँपालिकाकै वडा नं. ५ छपकैयामा भत्किएको तटबन्ध र चक्रघट्टा गाउँपालिका–३, सुन्दरपुर बजार क्षेत्रमा तटबन्ध निर्माण (नयाँ) सम्वन्धी कार्यको नेतृत्व जनताको तटबन्ध कार्यालयले गर्ने निर्णय गरेको छ ।
लखन्देही, झिम र बाँके नदीले असार र साउन दुई महिनामा २१ स्थानमा तटबन्ध भत्काएकाले तटबन्ध निर्माणका लागि आवश्यक बजेटका लागि सम्वन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ ।