logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जब्दीमा थारु संग्राहलय बनाइने


  • उज्यालो अभियान

जब्दी, ३२ साउन – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुरमा थारु सङ्ग्राहलय निर्माण गरिने भएको छ ।

त्यसकै तयारीस्वरुप हिजो सो ठाउँमा थारु सँस्कृति संरक्षण प्रवद्र्धन केन्द्रको कार्यालय भवन उद्घाटन गरिएको छ । कार्यालय स्थापनासँगै अब सङ्ग्राहलय निर्माणको काम अघि बढाइने थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाही एवं थारु सँस्कृति संरक्षण प्रवद्र्धन केन्द्रका अध्यक्ष सूर्यनारायण चौधरीले जानकारी दिए ।

उनका अनुसार थारु सङ्ग्राहलय निर्माणका लागि बहुवर्षीय योजना अन्तर्गत सङ्घीय सरकारबाट यो वर्ष ९० लाख रुपियाँ बजेट बिनियोजन भएको छ । उक्त बजेटबाट सङ्ग्राहलयको भवन निर्माण कार्य प्रारम्भ गर्न भाडामा कार्यालय भवन लिएर काम अघि बढाइएको थारु सँस्कृति संरक्षण प्रवद्र्धन केन्द्रले जनाएको छ ।

केन्द्रको कार्यालय संविधान सभा सदस्य रामचन्द्र चौधरीले उद्घाटन गरेका हुन् । कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियारलगायतले मन्तव्य व्यक्त गर्दै थारु सङ्ग्राहलय निर्माणका लागि आ–आफ्नो पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका कार्यक्रम संचालक नाथुराम चौधरीले जानकारी ेदिए ।

थारु कला, सँस्कृति र रीतिरिवाजको संरक्षण गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सङ्ग्राहलयमा थारु समुदायले प्रयोग गर्ने माटो तथा काठका भाँडा, जाल, पहिरनलगायत थारु सँस्कृति झल्कने वस्तु प्रदर्शनीमा राखिने छ ।