logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नगर अस्पताल लालबन्दीमा भिडियो एक्सरे सेवा सूचारु


  • उज्यालो अभियान

लालबन्दी, ३१ साउन – नगर अस्पताल लालबन्दीमा आजबाट भिडियो एक्सरे (युएसजी) सेवा सूचारु भएको छ ।

अस्पतालमा रेडियोलोजिष्टको अभावका कारण लामो समयदेखि भिडियो एक्सरे सेवा बन्द थियो । गएको सोमबार मात्रै अस्पतालमा एमडी रेडियोलोजिष्ट डा. विवेक केसी हाजिर भएसँगै आजबाट युएसजी सेवा पुनः सूचारु गरिएको हो । नगर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा यस भेगका गर्भवती तथा पेटको समस्या भएका बिरामी बाहिरका निजी स्वास्थ्य संस्थामा एक हजार रुपियाँसम्म शुल्क बुझाई भिडियो एक्सरे गर्न बाध्य थिए ।

अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रामविश्वास राय दनुवारलाई नियुक्त गरेपछि प्रसूतितर्फ अत्यधिक चाप बढिरहँदा गर्भवतीलाई बाहिरका स्वास्थ्य संस्थामा भिडियो एक्सरेका लागि पठाउनुपर्ने बाध्यता थियो । अब भने नगर अस्पतालमै करिव आधा शुल्कमा भिडियो एक्सरे सेवा सूरु गरिएको छ ।

भिडियो एक्सरे बापत ६०० रुपियाँ शुल्क लिने निर्णय भएको नगर अस्पतालले जनाएको छ । नगर अस्पतालका प्रमुख डा. चन्दन चौधरीले नगर अस्पताल आफैले खरिद नगरुन्जेल पोर्टेबल युएसजी मेसिन अन्यत्रबाट मागेर भिडियो एक्सरे सेवा सूचारु गरिएको बताए । उनले अस्पतालमा भर्खरै एक्सरे मेसिन समेत आइसकेकाले यो हप्ताभित्रै जडान गरेर एक्सरे सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए ।