बयलवास, २९ साउन – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, बयलवासमा मालपोत र नापी कार्यालय स्थापनाका लागि एक व्यक्तिले ४ कठ्ठा जग्गा प्रदान गरेका छन् ।
बयलवासस्थित केशरमार्गमा शिवेन्द्र केसीले लाखौँ मूल्यको ४ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन् । ईश्वरपुरमा मालपोत र नापी कार्यालय स्थापना गरी ईश्वरपुरसहित पूर्वी भेगको चन्द्रनगर, हरिपूर्वालगायत क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्न पहल गरिरहेको ईश्वरपुरका मेयर मनोजकुमार आचार्यले बताए ।
जग्गादाता केसीले हिजो नगरपालिका कार्यालयमा आएर जग्गाको राजिनामापत्र बुझाएका छन् ।
मेयर आचार्य, ईश्वरपुर नगरपालिका ७ का वडाध्यक्ष नाथुराम चौधरी, ईश्वरपुर नगरपालिका ९ का वडाध्यक्ष नन्दलाल चौधरी, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानप्रसाद श्रेष्ठलगायतको उपस्थितिमा जग्गादाता केसीले जग्गा हस्तान्तरण गरेका हुन् ।