मूर्तिया, २८ साउन – आज साउन महिनाको अन्तिम सोमबार भएकाले दिनभर सर्लाहीका शिवालयमा दर्शनार्थीको घुइँचो लाग्यो ।
जिल्लाभरका शिव मन्दिरमा पूजाअर्चना गर्न पुग्ने दर्शनार्थीको दिनभर नै बाक्लो चहलपहल देखिएको हो । यहाँको लालबन्दीस्थित अक्लेश्वर महादेव मन्दिर डुमडुमे र जलकेश्वर महादेव मन्दिर पत्थरकोट, हरिवनस्थित सुखेपोखरी महादेव मन्दिर र कैलाशपुरी महादेव मन्दिर, ईश्वरपुरस्थित सागरनाथ महादेव मन्दिर, बरहथवास्थित मुक्तेश्वर बाबाधाम मूर्तिया, हरिपुरस्थित चिताईन मन्दिरसहित प्रत्येक गाउँ टोलका शिव मन्दिरमा भक्तजनको भिड लागेको हाम्रा संवाददाताले जनाएका छन् ।
साउन महिनाभर प्रत्येक शिव मन्दिरमा दर्शनार्थीको यसरी भीड लाग्छ । अन्तिम सोमवार भएकाले पनि अधिकांश दर्शनार्थी शिवालय पुगे । सर्लाहीबाट महोत्तरीको टुटेश्वरस्थित टुटेश्वरनाथ मन्दिरमा पनि उत्तिकै संख्यामा दर्शनार्थी पुगेका छन् ।
आज टुटेश्वरस्थित मन्दिर दर्शन तथा बर्दिवासमा आयोजित महायज्ञमा सर्लाहीबाट सहभागी हुने धेरै थिए । साउन सक्किनै लाग्दा अब पूर्व पश्चिम राजमार्गमा बोलबम यात्री घट्दै जान्छन् । तर अझैपनि स्थानीय तथा भारतीय तिर्थालुको राजमार्गमा आउजाउ जारी नै छ । आज दिनभर नै बागमतीमा जल उठाउने भक्तजनको भिड देखिन्थ्यो ।
साउन महिनाभर यहाँको हाटबजार तथा ग्रामीण घुम्ती व्यवसायमा चुरा, पोते, मेहेन्दीलगायत श्रृङ्गारका सामग्रीको राम्रो किनबेच भएको छ ।