प्रतिकात्मक तस्बीर ।
मलंगवा, २६ साउन – सर्लाहीको तीनवटा वितरण केन्द्रमध्ये लालबन्दी वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बत्ती सूचारु भएको छ ।
मर्मत तथा रुखका हाँगाबिङ्गा काट्न भन्दै बिहान साँढे ८ बजेपछि बत्ती काटिएको थियो । मर्मतको काम सकेर ५ घण्टापछि अर्थात दिउँसो साँढे १ बजेबाट बत्ती सूचारु भएको हो । गर्मीले प्रभावित भइरहेका नागरिकले बत्ती सूचारु भएसँगै राहत महशुस गरेका छन् ।
आज शनिबार कार्यालयहरु बन्द रहने दिन पारेर लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्रले एकैसाथ टुटफुट भएको पिन डिक्स बदली र नाङ्गो तारमा छुएका तथा छुन लागेका रुखका हाँगाबिङगा काट्न काम गरेका छन् । लालबन्दी वितरण केन्द्रको बत्ती सूचारु भएपनि बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा मर्मतको काम जारी छ ।
बरहथवा वितरण केन्द्रले बरहथवा, हीरापुर र सोल्टी फिडरबाट संचालित लाइन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म अवरुद्ध रहने उल्लेख गरेको छ । त्यस्तै मलंगवा वितरण केन्द्रले आज दिनभर नै बत्ती नछाड्ने भएको छ ।
३३ केभी लाइनको नजिक रहेको रुखको हाँगाबिङ्गा काट्नुपर्ने र जरुरी मर्मतको काम गर्नुपर्ने भएकाले मलंगवाबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रको विद्युत् बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म अवरुद्ध हुने वितरण केन्द्रले सूचना जारी गरी जानकारी दिएको छ ।
मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा साँझसम्म नै बत्ती नआउने हुँदा स्थानीय गर्मीमा पंखा समेत चलाउन नपाउँदा समस्यामा परेका छन् ।