मलंगवा, २५ साउन – जिल्ला प्रशासन कार्यालय सर्लाहीले नयाँ नागरिकता वितरण गर्दा एउटा स्थानीय तहको हप्तामा तीन दिन पालो आउने गरी व्यवस्थापन गरेको छ ।
सेवाग्राहीको चाप थेग्न मुस्किल परेपछि कार्यालयले असार २२ गतेदेखि एउटा पालिकाको हप्तामा दुई दिन मात्रै पालो मिलाएको थियो । कार्यालयले हिजो बिहीबारबाट भने एक स्थानीय तहको हप्तामा तीन दिन पालो पर्ने गरी व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।
सर्लाहीमा सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासन कार्यालय, बरहथवा र हरिवनमा इलाका प्रशासन कार्यालय रहेका छन् । जिल्लाका २० स्थानीय तहमध्ये केही पालिकाका थोरै वडाहरु समेत गरी जिल्ला प्रशासन कार्यालयले मात्रै १६ वटा पालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने गरेको छ ।
कार्यालयले बलरा, हरिपुर, गोडैता र ईश्वरपुर नगरपालिका तथा धनकौल, रामनगर, चक्रघट्टा र ब्रह्मपुरी गाउँपालिकाका स्थानीयलाई नयाँ नागरिकता बनाउनु पर्दा आइतबार, मङ्गलबार र बिहीबारको समय दिएको छ । त्यस्तै हरिपूर्वा, मलङ्गवा र कविलासी नगरपालिका तथा कौडेना, विष्णु, चन्द्रनगर, बसबरिया र पर्सा गाउँपालिकाका वासिन्दाका लागि सोमबार, बुधबार र शुक्रबार तीन दिन समय छुट्याइएको छ ।
कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप हुने तर कर्मचारी सिमित रहँदा भिड व्यवस्थापनका लागि यसरी आलोपालो गरी सेवा प्रवाह गर्नु परेको हो । पर्याप्त कर्मचारी नभएर तत्कालै नागरिकता जारी नहुने र दोहोर्याएर कार्यालयमा धाउनुपर्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन् ।
कार्यालयले प्रतिलिपी नागरिकतातर्फ भने पालो नलगाइएको र कार्यालय खुलेको जुनसुकै दिन सेवा लिन सकिने प्रष्ट पारेको छ । सर्लाहीमा अहिले राष्ट्रिय परिचयपत्रको विवरण भर्नका लागि पनि जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड लाग्ने गरेको छ ।
चर्को गर्मीमा सेवाग्राही घण्टौँ पालो कुरेर परिचयपत्रका लागि विवरण भराउन बाध्य छन् । राष्ट्रिय परिचयपत्रका लागि एकैदिनमा काम नहुँदा अर्को दिन जानुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।
अहिले सामाजिक सुरक्षाभत्ता नवीकरण गर्न पनि परिचयपत्र नम्वर खोज्न थालिएपछि कार्यालयमा सेवाग्राहीको चाप अझ बढेको हो ।