logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

छोटो अवधिमै उप्किन थाल्यो हुलाकी सडक


  • उज्यालो अभियान

ब्रम्हपुरी, २५ साउन – वर्षौको प्रतिक्षापछि कालोपत्रे भएको सर्लाहीको पूर्व पश्चिम हुलाकी सडकमा छोटो अवधिमै कालोपत्रे उप्किन थालेको छ ।

दुई वर्षअघि सडक कालोपत्रे भएपछि स्थानीयले धुलो र हिलोबाट मुक्ति पाएका थिए । सडक कालोपत्रे हुँदा खुसी भएका स्थानीय अहिले ठाउँठाउँमा ‘पिच’ भत्किँदा निराश बनेका छन् ।

बलरा नगरपालिकास्थित बागमती नदीदेखि पर्सा गाउँपालिकाको शितलपुर हर्दी खोलासम्मको हुलाकी सडकमध्ये मलङ्गवादेखि पूर्व शीतलपुरसम्मको खण्डमा कालोपत्रे उप्किएर धेरै खाल्डाखुल्डी परेका छन् । सदरमुकाम मलङ्गवादेखि महोत्तरीको सिमाना शीतलपुरस्थित हर्दी खोलासम्मको १५ किलोमिटर सडक हिमडुङ एण्ड थोकर हीरा एण्ड नमिता जेभीले ठेक्का लिएको थियो ।

यो निर्माण कम्पनिले सडकमा सामान्य ढङ्गको कालोपत्रे अर्थात् डबलकोट सर्फेस ड्रेसिङ (डिबिएसडी) मात्रै गरेर छाडेकाले चाँडै कालोपत्रे उप्किएको हो । धुलोले जनजीवन अत्यन्त कष्टकर बनेपछि चौतर्फी दबाब थेग्न नसकेर निर्माण कम्पनिले दुई वर्षअघि सामान्य रुपमा कालोपत्रे गरेको थियो ।

सडकमा अन्तिम चरणको कालोपत्रे गर्न ढिलाई भइरहेको छ । त्यसैका कारण कमसल कालोपत्रे उप्किएर सडक जिर्ण बन्न पुगेको हो । हुलाकी सडक आयोजना कार्यालयको सर्लाहीखण्ड हेर्ने इन्जिनियर रञ्जित यादवले अन्तिम चरणको कालोपत्रे हुन बाँकी नै रहेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । “यो फाइनल पिच होइन, ठेकेदारले थप काम गर्नै बाँकी छ,” उनले उज्यालोसँग भने “अन्तिम चरणको कालोपत्रे हुँदा यि खाल्डाखुल्डी सबै पुरिन्छन् ।”

हुलाकी सडक आयोजनाले अन्तिम चरणको कालोपत्रेको काम पूरा गर्न ठेकेदारलाई ताकेता गरिरहेको जनाएको छ । “त्यसका लागि हामीले ठेकेदारलाई पत्र नै काटिसकेका छौँ,” कार्यालयका प्रमुख कृष्ण महतोले पनि उज्यालो अभियानसँगको कुराकानीमा अगाडि थपे “पानी पर्न रोकिएपछि दशैँअघि नै सक्ने गरी काम अघि बढ्छ ।”

सर्लाहीको सीमावर्ती दर्जनौँ बस्तीका स्थानीय सदरमुकाम मलङ्गवासम्म आउजाउका लागि हुलाकी सडक प्रयोग गर्छन् । दक्षिणी बेल्टका स्थानीयले प्रदेश राजधानी जनकपुर पुग्न पनि अहिले हुलाकी सडक नै प्रयोग गर्न थालेका छन् ।

२०७२ सालमा ठेक्का लागेको हुलाकी सडक ठेकेदारको बहानाबाजीलगायत कारणले ढिलो गरी कालोपत्रे भएको छ । छिमेकी जिल्ला महोत्तरीमा गुणस्तरीय सडक निर्माण भएको तर सर्लाहीमा भने कमसल काम भएका कारण चाँडो कालोपत्रे उप्किएको गुनासो सर्वसाधारणले गर्दै आएका छन् ।