logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सुनसान छन पालिकाका कार्यालयहरु


  • उज्यालो अभियान

चक्रघट्टा गाउँपालिकाको कार्यालय । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, २२ साउन – नयाँ आर्थिक वर्षको सुरुवातसँगै सर्लाहीमा स्थानीय तहका कार्यालयहरु सुनसान देखिएका छन् ।

प्रत्येक नगरपालिका तथा गाउँपालिकाको कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून देखिन्छ । असारमा योजना सम्झौतादेखि भुक्तानीसम्मको चटारोले उपभोक्ता समितिका पदाधिकारी, अरु सेवाग्राही र ठेकेदारको आउजाउ बाक्लिएको पालिकामा अहिले भने प्रायः कर्मचारी मात्रै भेटिन्छन् ।

साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०८१÷०८२ सुरु भएदेखि ‘फ्रेस’ हुन भन्दै कतिपय कर्मचारी त बिदामा बसेका छन् । हिसाब मिलान गर्न बाँकी रहेका पालिकाका कर्मचारीलाई भने आन्तरिक लेखापरीक्षण (आलेप) को चटारो समेत छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख पुष्पप्रसाद गुरागाईले पालिकाहरुलाई हिसाब मिलान गरेर चाँडो कार्यालयमा बुझाउन ताकेता गरेपनि धेरैले बेवास्ता गरेका बताए । पालिकाहरुले कोलेनिकाबाट निकासा भएको बजेट र पालिकाले गरेको खर्च मिलान गरेर कोलेनिकालाई हिसाब बुझाउनुपर्ने हुन्छ ।

त्यसपछि मात्रै पालिकाहरुको नयाँ खाता खुलेर नयाँ आर्थिक वर्षको बजेट सञ्चालनमा आउँछ । सर्लाहीमा देशभरमै सबैभन्दा बढी ११ नगरपालिका र नौ गाउँपालिका गरी २० वटा स्थानीय तह रहेका छन् ।
यि मध्ये १६ वटा पालिकाले चालू आर्थिक वर्षका लागि बजेट पारित गरिसकेका छन् । विवादका कारण हरिवन नगरपालिकाले यो वर्ष बजेट पारित गर्न सकेको छैन् ।

गत वर्ष पनि दशैँअघि मात्रै बजेट पास गरेको हरिवनमा औपचारिक नगरसभा प्रारम्भ भएदेखि पुनः नगरसभा बैठक बस्न सकेको छैन् । यहाँ नगरप्रमुख र वडाध्यक्षहरुबिच बजेटका सम्वन्धमा कुरा मिल्न नसक्दा समस्या भइरहेको छ ।

हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) बजेट पारित गराउन पहल जारी राखेको दावी गर्छन् । उनले कुरा मिलेजस्तो हुने र फेरि बिग्रने भइरहेको बताए ।

त्यस्तै नगर प्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मुक्तान निलम्बनमा परेकाले बागमती नगरपालिकाको बजेट अन्यौलमा छ । बजेट ल्याउन नसकेको ईश्वरपुर नगरपालिकामा छलफल जारी छ ।

प्रायः ढिलो गरी बजेट ल्याउने विष्णु गाउँपालिकाले पनि यो वर्ष बजेट ल्याउन गाउँसभा नै गर्न सकेको छैन् । यहाँ समेत गाउँपालिका अध्यक्ष जवाहार राय यादव र वडाध्यक्षबिच विवाद छ ।