logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका पेट्रोल पम्पले बाँड्न थाले पेट्रोल र डिजेल, अधिकांशमा लाइन


  • उज्यालो अभियान

लालबन्दी, १९ साउन – सर्लाहीका पेट्रोल पम्पले आज बिहानैदेखि पेट्रोल र डिजेल वितरण गर्न सुरु गरेका छन् ।

पेट्रोलियम पदार्थ ओसार्ने ट्याङकर चालकको आन्दोलनका कारण सर्लाहीमा अस्ती बिहीबारदेखि पेट्रोलियम पदार्थको अभाव थियो । चालकले अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ नउठाएपछि सर्लाहीमा पेट्रोल र डिजेलको अभाव भएकोमा गएरातिदेखि पेट्रोलियम पदार्थ उठ्न थालेको र तेल ल्याएर आज बिहानदेखि सबै पप्पहरुबाट वितरण सुरु गरिसकेको पेट्रोलियम डिलर्स एशोसियशन सर्लाहीका अध्यक्ष सुनिल साहले जानकारी दिए ।

अध्यक्ष साहसहितको टोली आन्दोलित ट्याङकर चालकसँग छलफल गर्न हिजो अमलेखगञ्ज पुगेको थियो । सर्लाहीका पेट्रोल पम्प सञ्चालकले अमलेखगञ्जदेखि पेट्रोलियम पदार्थ सुरक्षित ल्याइदिएबापत एक ट्याङकर पेट्रोल वा डिजेल बराबर चालकलाई ७०० रुपियाँ प्रदान गर्दै आइरहेका थिए ।

पम्प सञ्चालकले अहिले आएर सो रकम दिन बन्द गरेपछि ट्याङकर चालकले पेट्रोल र डिजेल ढुवानी बन्द गरेका थिए । यसअघि जिल्लामा सबैतिर कच्ची सडक रहेकाले ट्याङकर चालकले कहीँकतै तेल नोक्सान नगरी पम्पसम्म सुरक्षित ल्याइदिऊन भनी ७०० सय रुपियाँ अतिरिक्त रकम दिने गरिएको थियो ।

पम्प सञ्चालकले अब भने उक्त रकम दिनुपर्ने भए ट्याङकर चालकले भ्याट बिल दिनुपर्ने माग अघि सारेका छन् । ट्याङकर चालकलाई उक्त पैसा दिने विषयमा छलफल गर्दै गर्ने र तत्काल पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमतीमा गएरातिबाट पेट्रोलियम पदार्थको ढुवानी सूचारु भएको हो ।

२ दिनपछि पेट्रोल पप्प खुल्दा अहिले बिहान अधिकांश पम्पमा पेट्रोल तथा डिजेल भर्नेको लाइन छ ।