logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बयलवास बजारमा हलगोरुको प्रतिमा निर्माण


  • उज्यालो अभियान

बयलवास, १९ साउन – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा गोरुको प्रतिमा निर्माण गरिएको छ ।

गाईवस्तुको धेरै नै किनबेच हुने जिल्लाकै सबैभन्दा पुरानो बजार बयलवासमा चिनारीको रुपमा नगरपालिका कार्यालयले मुख्य बजार क्षेत्रमा एक हल अर्थात् दुईवटा गोरुको प्रतिमा निर्माण गरेको हो । बयलवास महेन्द्र बजारको पुरानो नामले समेत चिनिन्छ ।

यो बजार गाईबस्तुको किनबेच हुने बजारका रुपमा बढी प्रख्यात छ । यहाँ अहिले पनि बुधबार र शनिबार गाईवस्तुको अत्यधिक किनबेच हुन्छ । नगरप्रमुख मनोजकुमार आचार्यले गोरुको धेरै नै किनबेच हुने बयलवासलाई पछिसम्म चिनाइराख्न र ईतिहास समेत संरक्षण गर्न हलगोरुको प्रतिमा निर्माण गरिएको बताए ।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजारस्थित फूलजोर–त्रिभुवननगर सडकको बिच भागमा निर्माण गरिएको उक्त प्रतिमाको हिजो नगरप्रमुख आचार्य, ईश्वरपुर ५ का वडाध्यक्ष पंची महतो, ईश्वरपुर ६ का वडाध्यक्ष महम्मद रहमन अंसारी, ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठलगायतको उपस्थितिमा उद्घाटन गरिएको छ ।