फाइल तस्बीर ।
मलंगवा, १८ साउन – सर्लाहीसहित देशका अधिकांश ठाउँमा ३ दिनदेखि रातिको समयमा ठूलो पानी पर्ने र दिनभर टन्टलापुर घाम लाग्ने भइरहेको छ ।
राति चट्याङसहित पानी पर्ने र दिनभर एकनासले टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी हुने भइरहेको हो । ३ रातको पानीले धान बालीलाई निकै फाइदा पुगेको छ ।
कतै तरकारी खेती र पाक्न थालेको मकै बालीमा भने पानीले क्षति गरेको छ । धान रोपेका किसानलाई पानी परेपछि गोडमेल र मलखादको चटारो परेका बेला मकै पाकीसकेका किसानलाई भने पानीले भिजाएपछि मकै भित्र्याउन समस्या परेको छ ।
राति पानीसहित चट्याङ पर्दा जिल्लाका विभिन्न स्थानमा बत्ती, पंखालगायतका विद्युतीय उपकरणमा क्षति गरेको स्थानीयले बताएका छन् । जिल्लाभरकै विद्युत् अनियमित बनिरहेको छ ।
अहिलेको पानीले चुरेभेगका गोरेटो बाटो र ग्रामीण इलाकाका कच्ची सडक ठाउँठाउँमा बिगारेको छ ।
३ रात ठूलो पानी परेकाले प्रायः सुक्खा रहने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, चापिनी, हरिवन खोलासहितका खहरे खोलामा अहिले तलसम्म नै बाढी बगिरहेको छ ।