स्व. रायलाई दाहसंस्कारका लागि लैजाने क्रममा निस्किएकाे शवयात्रा । (तस्बिर : उज्यालाे अभियान)

दाहसंस्कार स्थलमा स्व. रायकाे सम्मानमा सलामी अर्पण गर्दै सशस्त्र प्रहरीकाे टुकडी । (तस्बिर : उज्यालाे अभियान)
मलंगवा, ०८ साउन – पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको मंगलबार साँझ अन्तिम दाहसंस्कार गरिएको छ ।
पूर्व राज्य मन्त्री रायको सम्मानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीको एक टुकडीले सलामी अर्पण समेत गरेको छ । मलंगवा नगरपालिका-४ स्थित निवासबाट निकालिएको स्व. रायको शव स्थानीय साकेत बिहार राम मन्दिर परिसरमा लगेर दाहसंस्कार गरिएको हो ।
दाहसंस्कारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, मधेश प्रदेश अध्यक्ष भरत गिरी, मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण राय, पूर्व उपसभापति विनोद खनाल सहित कांग्रेसका नेता कार्यकर्ताहरु, नेपाल समाजवादी पार्टीका नेता एवं पूर्व मन्त्री महिन्द्र राय, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, नेपाल प्रहरीका उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनाल सहित सुरक्षा अधिकारीहरु, अन्य विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
आइतबार राती सर्लाहीकै चन्द्रनगर गाउँपालिका-१ रतनपुर स्थित घरमा ८० वर्षीय रायको हत्या भएको हो । मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका सहोदर दाई रामचन्द्र धानखेती गराउनका लागि केही समयदेखि चन्द्रनगर बस्दै आएका थिए ।
रायका आफन्त समेत रहेका भान्सेको काम गर्ने रामउजैन यादवले राती १२ बजे स्थानीय तथा प्रहरीलाई घटनाबारे खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहका अनुसार कुराकानी गर्न भन्दै राती ९ बजेतिर नचिनेका ३ जना आएपछि रायले आफूलाई माथि गएर सुत्न भनेको र राती १ बजेतिर उठेर हेर्दा राय मृत्त देखेको बताएका छन् ।
प्रहरीका अनुसार यादवको टाउकाको बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरीएको छ । उखु काट्न प्रयोग हुने दबियाले टाउकामा प्रहार भएको प्रहरीले जनाएको छ ।
खबर प्राप्त हुनासाथ एसपी सिंहको टोली घटनास्थल पुगेको थियो भने बिहान सबा ४ बजे धनुषाबाट कुकुर सहितको टोली समेत आएको थियो । त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञ बिनोद पोखरेलसमेत बिहान पौने ५ बजे घटनास्थल पुगेका थिए ।
राय आईतबार दिउँसो नै मलंगवा नगरपालिका–४ स्थित घर आई बैंकबाट पैसा समेत निकालेर पुनः चन्द्रनगर फर्किएको परिवारका सदस्यले बताएका छन् । २०५६ सालको संसदीय निर्वाचनमा सदरमुकाम मलंगवा सहितको साबिक क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट सांसद निर्वाचित राय २०६१ सालमा भूमिसुधार राज्यमन्त्री भएका थिए । स्व. रायका श्रीमति सहित २ छाेरा र ५ छाेरी छन् । अष्ट्रेलिया बसेका जेठा छाेरा शैलेन्द्र राय मंगलबार दिउँसाे मात्र नेपाल आएकाले दाहसंस्कारमा १ दिन ढिला भएकाे हाे ।
घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाईएको एसपी सिंहले बताए । प्रहरीले रामउजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । सोधपुछ लगायतको काम भईरहेकाले तत्काल रामउजैनलाई अभद्र व्यवहार मुद्धामा म्याद लिएर अनुसन्धान अगाडी बढाईएको र घटनाबारे एकिन विवरण आएसँगै कर्तव्य ज्यान मुद्धा चलाईने प्रहरी स्रोतले जनाएको छ ।