लालबन्दी, ०३ साउन – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुर र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुलमा बाढीले दायाँबायाँ कटान गरेको सडकमा माटो भर्ने काम सुरु भएको छ ।
अविरल वर्षापछि खोलामा आएको बाढीले दुवै भागमा सडक बगाएर ठूलो भ्वाङ परेको थियो । दायाँबायाँको गिट्टी, बालुवा र माटो बगाएपछि पुल नै जोखिममा परेको र दुर्घटना हुने डर रहेको भन्दै दुवै नगरपालिकाले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यानाकर्षण गराएका थिए ।
कार्यालयले ठेकेदारलाई परिचालन गरी कटान गरेको सडकमा तटबन्ध कसेर माटो भर्ने काम थालेको हो । जब्दीतर्फको भागमा बाँसको अस्थायी तटबन्ध बनाइ माटो हुर्ने काम सम्पन्न भइसकेको र अब रामपुरतर्फको काम बाँकी रहेको लालबन्दी नगरपालिका ३ का वडाध्यक्ष वुद्धदेव चौधरीेले जानकारी दिए ।
अत्यन्त ढिलासुस्ती गरी निर्माण पूरा भएको फूलजोरको यो पुलमा दायाँबायाँको सडक समेत कालोपत्रे गर्ने सम्झौता भएपनि ठेकेदारले माटो र गिट्टी मात्रै हुरेर पुलबाट आवतजावतको व्यवस्था मिलाइदिएका छन् । यसतर्फ पनि आफूहरुले ठेकेदार र सडक डिभिजनमा ताकेता गरिरहेको वडाध्यक्ष चौधरीले बताए ।