logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आज मोहरम पर्व, सुरक्षा निकायद्वारा उच्च सतर्कता


  • उज्यालो अभियान

मलंगवा, ०२ साउन – सर्लाहीमा पनि आज इस्लाम धर्मावलम्वीले आफ्नो महान पर्व मोहरम मनाउँदै छन् ।

ताजिया तथा दाहा समेत भनिने यो पर्व मुस्लिम समुदायको बसोवास रहेको जिल्लाका २० वटै पालिकामा धुमधामसँग मनाउन लागिएको हो । यो पर्वमा घरेलु हातहतियार प्रदर्शन गर्दै र्याली निकाल्ने प्रचलन छ ।

सर्लाही प्रशासनले यस पर्वलाई लक्षित गरी हिजो नै सूचना जारी गर्दै मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक सद्भाव कायम गरी पर्व मनाउन आग्रह गरिसकेको छ । पर्वलाई लक्षित गरी जिल्लाका सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएका छन् ।

सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले मोहरमलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए । मोहरममा कुनै विवाद हुन नदिन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु हिजो गोडैता पुगेर मुस्लिम र हिन्दु दुवै समुदायका अगुवालाई राखेर छलफल गरेका थिए । पर्वलाई शान्तिपूर्ण बनाउन अहिले बिहान पुनः जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल राखिएको एसपी सिंहले अहिले बिहान उज्यालो अभियानसँग बताए ।

पर्व मनाउनेक्रममा विवाद हुन सक्ने भन्दै मलंगवा, गोडैता, खुटौना, ब्रम्हपुरीलगायत स्थानमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपाल कुमार अधिकारीले हस्ताक्षर गरी हिजो जिल्ला प्रशासनबाट जारी सूचनामा सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने, भाला, तरबारलगायतका हातहतियार प्रदर्शन गर्ने जस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्य नगरी सौहाद्रपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरिएको छ ।

कोही कसैले अवाञ्छित क्रियाकलाप गरे/गराएको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारीले उल्लेख गर्नुभएको छ ।