logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सौहाद्रपूर्ण वातावरणमा मोहरम पर्व मनाउन आग्रह


  • उज्यालो अभियान

मलंगवा, ०१ साउन – सर्लाही प्रशासनले जिल्लाका इस्लाम धर्मावलम्वीलाई आफ्नो महान पर्व मोहरम मनाउँदा सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ ।

कार्यालयले आज सूचना जारी गरी भोली बुधबार मनाउन लागिएको ताजिया तथा दाहा समेत भनिने मोहरम पर्व मनाउँदा सामाजिक सद्भाव कायम गर्न अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले हस्ताक्षर गरी जारी गर्नुभएको सूचनामा पर्व मनाउने क्रममा कार्यक्रमहरु गर्दा मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अनुरोध गरेका छन् ।

सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने, भाला, तरबारलगायतका हातहतियार प्रदर्शन गर्ने जस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्य नगरी सौहाद्रपूर्ण वातावरणमा पर्व मनाउन सूचना जारी गरिएको छ । कोही कसैले अवाञ्छित क्रियाकलाप गरे/गराएको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारीले उल्लेख गरेका छन् ।

सर्लाहीमा मुस्लिम समुदायको बाक्लो बसोवास रहेको मलङ्गवा, हरिपूर्वा, हरिपुर, बयलवास, चक्रघट्टा, गोडैता लगायतक्षेत्रमा भोली हर्षोल्लासपूर्वक मोहरम पर्व मनाउने तयारी भइरहेको छ ।

यो पर्व मनाउनेक्रममा विभिन्न किसिमका घरेलु हातहतियार प्रदर्शन गरिने र धेरै मानिस भेला हुने गरेकाले प्रहरीले सोही अनुसार सुरक्षा प्रवन्ध मिलाएको छ ।

पर्वलाई लक्षित गरी कार्यक्रम हुने स्थानमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।